नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय

काठमाडौं, असार २५ । नेपालमा बिना अवरोध भित्रिरहेका भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ ।नेपालका बारेमा पछिल्ला केही महिनायता गलत प्रचारमा संलग्न रहेका सबै भारतीय समाचार च्यानलहरुको प्रशारण रोकिएको हो ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रशारण नेपालमा बन्द गरेका हुन् । बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्‍यक्ष दिनेश सुवेदीले देश सञ्‍चारलाई जानकारी दिनुभयो ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको सचारमाध्यमलाई जानकारी गराउनुभएको छ ।

केही समययता भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेका छन् भने पछिल्लो समय प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रशारण गरेपछि नेपालमा त्यस्ता च्यानल बन्द गर्नुपर्ने माग पनि बढेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस