लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि विरोध गरेको भारतले नेपाललाई पठायो यस्तो पत्र

काठमाडौं । नेपालले भारतद्धारा अतिक्रमित जमिन पनि समेटेर नयाँ नक्सा जारी गरेपछि विरोध गरेको भारतले औपचारीक पत्र (नोट) पठाएको छ । असार १० गते नै आएको पत्रका बारेमा आज (विहिवार) औपचारीक जानकारी आएको हो । परराष्ट्र मन्त्रालयले यस वारेमा अहिले सम्म केही बोलेको छैन ।

तर विहिवार राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति रामनारायण विडारीले त्यसको जानकारी दिएका छन् । उनले लिम्पियाधुरा समेतलाई समेटेर जारी गरेको नयाँ नक्साको विरोध गर्दै नेपाललाई औपचारीक नोट पठाएको जानकारी दिएका हुन् । उनले असार १० गते नै नोट पठाएको बारे पनि समितिमा जानकारी दिएका छन् ।

भारतद्धारा अतिक्रमित जमिन समेटेर नयाँ नक्सा जारी भएपछि भारतले तत्काल प्रतिकृया जनाउँदै मान्यता नदिने भनेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै प्रतिकृया दिएका थिए । भारतीय मिडियाले सो घटनाक्रमलाई निकै निकृष्ट ढंगले प्रचार गरको छन् ।

उनीहरुले चीनको इसारामा नेपालले नयाँ नक्सा जारी गरेको आरोप लगाउँदै आएका छन् । भारतको विरोधको वावजुद नेपालले संविधान संसोधन गरी नयाँ नक्सालाई निसान छापमा पनि समेटेपछि भारतीय मिडिया थप निकृष्टतामा उत्रिएका छन् ।

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले पनि सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका थिए ।
यसअघि नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा नेपाली भूभाग परेको भन्दै नेपालले विरोध गरेको थियो । कूटनीतिक नोट पठाउनुका साथै दुई पटक वार्ताको प्रस्ताव पनि गरेको थियो, तर भारत तयार भएन ।

भारतले नेपालको जमिनमा सडक निर्माण गरेर उद्घाटन समेत गरिसकेपछि यो विषय फेरी चर्चामा आएको हो । भारतले नेपालको लिपुलेक क्षेत्र हुँदै तिब्बतको मानसरोवर जाने वाटो निर्माण सम्पन्न गरी उद्घाटन समेत गरिसकेको छ । नेपालले औपचारीक रुपमा नोट समेत पठाइसकेको विषयमा भारतले अटेरी गर्दै आएको छ ।

नेपालले तत्काल वार्तामा बस्न आग्रह गर्दा भारतले वेवास्ता गर्दै आएको छ । भारतले वार्तामा बस्न अस्वीकार गरेपछि नेपालले नया नक्सा जारी गरेको हो । नेपालले जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस