भाग्यले बाँचेको परिवार : १ मिनेट छिटो भाग्दा ७ जनाको ज्यान जोगियो

बुधबार आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का जम्बु गाउँको करिब २० वटाभन्दा बढी घर बगाउँदा २१ जना बेपत्ता भएका हुन् ।

यल्मु खोलाकै छेउमा रहेको एक परिवारका सवै ७ जना सदस्य भने घर पूरै क्षति हुँदासमेत बाँचेका छन् ।

यसरी बाँचे अधिकारी परिवार

खिलबहादुर अधिकारीको जम्बुगाउँको यल्मु खोलाको छेउमै साढे दुईतले पक्की घर छ । बुधबारको बाढीले पूरै क्षति पुगेको छ । तर, उनीहरू भने भागेर बाँच्न सफल भए ।

बुधबार पनि सधैँजसो अधिकारी परिवार बेलुकाको खाना खाएर १० बजे नै सुतिसकेको थियो । बाहिर मुसलधारे पानी पर्दै थियो । बाढीपहिरोले घर नै बगाउला, छिमेकीहरू नै तहसनहस होलान् भन्ने खिलबहादुरको मनमा एकरति पनि लागेको थिएन । तर, करिब १२ बज्दा छिमेकी कराउन थाले ।

हल्लीखल्ली मच्चियो । त्यो पूर्वपट्टिको लाटो खोलामा आएको बाढीको हल्ला थियो । उनीहरू सबै उठेर भाग्न थाले । घरछेउकै यल्मु खोलामा त्यत्रो वितण्डा मच्चाउने बाढी आउला भन्ने सोचेकै थिएनन् ।

खिलबहादुरकी श्रीमती भन्छिन्, ‘हामी सुतिसकेका थियौैं । साढे ११ बजेतिर छिमेकीले हल्ला गरे । बाढी आयो भने, हामी सबै उठेर भाग्यौँ । २ जना बच्चा पनि थिए । बाहिर निस्कँदा आँगनसम्म पानी थियो । भागेर खोलाको अर्को छेउ पुग्दा त माथिबाट बाढी नै आयो । १ मिनेट मात्रै ढिला भएको भए हाम्रो पनि परिवारै सकिन्थ्यो । कसरी बाँच्यौँ, अहिले सम्झिदा पनि डर लागेर आउँछ ।’

आफूभन्दा केही परका छिमेकीलाई हेर्दाहेर्दै बाढी पुरेको उनले बताइन् । बाढीले खोलाको छेउमा पुग्दा लडाएर हात खुट्टामा चोट लागेको उनी सुनाउँछिन् ।

‘सामान्य घाइते भएकी छु । घर बाढीले लगे पनि धन्न मेरो परिवारलाई केही भएन । भाग्यले बाँचेका छौँ । बाढी आउँदाको त्यो दृश्यबारे वर्णन गर्न सक्दिनँ,’ अधिकारी भन्छिन् ।

घरबाट भागेर रातभर पानीमा अर्को स्थानीयको टहरमा बास भएको उनी बताउँछिन् । जम्बुमा २ परिवार मात्रै अधिकारीको छ । ती दुवै परिवारको भौतिक सम्पत्ति क्षति भए पनि मानवीय क्षति हुनबाट भने भाग्यले साथ दिएको छ ।
शिलापत्रको सहयोगमा

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस