खुशीको खबर: एकै दिन ४३१ जनाले कोरोना जितेर घर फर्किए

काठमाडौँ, २७ असार- पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रदेशअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं १ मा १३, प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा सात तथा प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा पाँच÷पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी सिन्धुपाल्चोक र दाङमा पाँच÷पाँच, सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा चार÷चार, मोरङ, काठमाडौँ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा तीन÷तीन, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा दुई÷दुई, सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एक÷एक सङ्क्रमित भेटिएका छन् ।

यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ७१९ पुगेको छ । छ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गराइरहेका ४३१ जना कोरोना सङ्क्रमण मुक्त भई ‘डिस्चार्ज’ भएको उहाँले प्रवक्ता प्राडा गौतमले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस