बिबिसी – विश्व कोभिड-१९ सँग जुझिरहेका पछिल्ला केही महिनामा नेपाल-भारत सम्बन्धमा चिसोपन गहिरिँदै गएको छ। दुई देशबीचको सम्बन्ध अहिले बिग्रिएकाले तत्काल कूटनीतिक वार्ताको सम्भावना नदेखिएको कतिपय जानकारहरूले बताउने गरेका छन्। कतिपय कूटनीतिकज्ञहरूले त नेपाल र भारतको सम्बन्ध जनस्तरमै बिग्रन सक्ने चेतावनी दिएका छन्। यसै सन्दर्भमा भारतलाई चिढ्याएको ठानिएका पछिल्ला केही महिनामा नेपालका प्रधानमन्त्री केपी ओलीले चालेका कदम र अभिव्यक्तिहरू यस्ता छन्:
१. नेपालको नयाँ नक्सा
वैशाख २६ मा भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालले दाबी गरेको धार्चुला-लिपुलेक क्षेत्रमा सडकको उद्घाटन गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाएको थियो। लगत्तै भारतले आफ्नै भूमिबाट सडक निर्माण गरेको प्रतिक्रिया जनायो। यसअघि पनि उक्त क्षेत्रलाई लिएर दुई देशबीच विवाद जारी थियो। तर भारतको पछिल्लो कदमपश्चात् नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गर्यो।
नेपालले जेठ पहिलो साता मन्त्रिपरिषद्ले पारित गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि त्यसलाई भारतले ‘कृत्रिम विस्तार’ भन्ने प्रतिक्रिया जनाएको थियो।उक्त नक्सा जारी भएपश्चात् नेपाल र भारतबीच तिक्तता निकै बढेको देखिएको छ।भारतीय सञ्चारमाध्यमले नेपालको उक्त कार्यलाई चीनको इसारामा चालिएको कदमका रूपमा अर्थ्याउने गरेका छन्।नेपालमा भने उक्त नक्सालाई संविधान संसोधनमार्फत् दुवै सदनबाट पारित गराइ लागु गरिसकिएको छ।यसले भारतलाई निकै चिढ्याएको कूटनीतिक क्षेत्रका जानकारहरूले बताउने गरेका छन्।
२. “सिंहमेव जयते र भारतीय कोरोनाभाइरस”
प्रधानमन्त्री ओलीले गत जेठ ६ गते संसद्मा बोल्ने क्रममा दिएका दुई अभिव्यक्तिले पनि भारतलाई चिढ्याएको ठानिन्छ।नीति तथा कार्यक्रमबारे संसद्लाई जवाफ दिने क्रममा उनले भारतको राष्ट्रिय प्रतीकमुनि लेख्ने गरिएको भारतको राष्ट्रिय आदर्श वाक्यबारे टिप्पणी गरेका थिए।संसद्मा बोल्दै उनले भनेका थिए, “भारतको एउटा प्रतिक चिह्न छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह। चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ।”