कोरोना खोप परीक्षणमा नयाँ नतिजा:

अमेरिकी बायोटेक कम्पनी ‘मोडर्ना’ ले ४५ जना स्वस्थ व्यक्तिमा गरेको कोरोना खोप परीक्षणले रोग प्रतिरोधक क्षमता बढाएको अनुसन्धाताहरूले बताएका छन्।’द न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा मंगलबार प्रकाशित रिपोर्टअनुसार कोरोना भाइरसविरूद्धको उक्त सम्भावित खोप सुरक्षित देखिएको छ।

यो मोडर्नाले गरेको दोस्रो क्लिनिकल परीक्षण हो। यसअघि मार्च महिनामा पहिलो परीक्षण गरिएको थियो, जसमा आठ जना स्वस्थ व्यक्ति सामेल थिए। पहिलोपटक गरिएको उक्त मानवीय परीक्षणको नतिजा पनि सुरक्षित देखिएको र रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको कम्पनीले जनाएको थियो।

कम्पनी अब तेस्रो चरणको मानवीय परीक्षण गर्ने तयारीमा छ, जुन पहिलो र दोस्रोभन्दा बृहत स्तरको हुनेछ।यही जुलाई २७ बाट सुरू हुने तेस्रो चरणको क्लिनिकल परीक्षणमा करिब ३० हजार व्यक्तिलाई खोप लगाइनेछ। यसबाट जे नतिजा निस्कन्छ, त्यसले कोरोना भाइरसविरूद्ध जारी वैज्ञानिक अनुसन्धानको भविष्य निर्धारण गर्नेछ।

मोडर्नाले एलर्जी तथा सरूवा रोगसम्बन्धी राष्ट्रिय अनुसन्धान संस्थाको सहयोगमा यो खोप परीक्षण गरेको हो। तीनै चरणको परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाले जनाएको छ।

कोरोना महामारीसँग लड्न यो खोपले काम गर्छ कि गर्दैन भनेर छिटोभन्दा छिटो नतिजामा पुग्न संक्रमित बिरामी धेरै भएका ‘हट स्पट’ मा परीक्षण गर्नुपर्छ। मोडर्नाले आफ्नो तेस्रो चरणको परीक्षण त्यस्तै ठाउँमा गर्न खोजेको छ, जहाँ मान्छेहरू बढ्ता जोखिममा छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस