संकट परेका बेला भारतले २६ प्रकारका अत्यावश्यक औषधीमा रोक लगाएपछि नेपालले आफै बनायो, अब आत्मनिर्भर बन्दै नेपाल !

काठमाण्डौं – कोभिड–१९ को महामारी भित्रिइसकेपछि भारतले २६ प्रकारका अत्यावश्यक औषधी निर्यातमा रोक लगायो। भारतले निर्यातमा प्रतिबन्ध लगाउने बताएसँगै औषधी अभावको त्रास आम नागरिकस्तरमै पुग्यो तर औषधी उत्पादन गर्दै आएका उद्योगीले एकै स्वरमा भने, ‘हामी अभाव हुन दिन्नौं, आफैं उत्पादन गरेर अभाव टार्छौं।’ भारतको निर्यातमा रोक लगाउने निर्णय लामो समय टिकेन तथापि व्यवसायीमा आत्मविश्वास देखियो र सरकारमा व्यवसायीप्रति भरोसा पनि थपियो।

कोरोनाको प्रभाव बढ्दै जाँदा मास्क र सेनिटाइजरको समेत चरम अभाव थियो। मास्कको अभाव टार्न व्यावसायी दिपक मलहोत्राले ५० लाखभन्दा बढीको लगानीमा मास्क उत्पादन गर्ने मेसिन ल्याए र अभाव टारे। मुलुकमा उत्पादन नै नहुने सेनिटाइजरका ४० कम्पनीले दर्ता भएरै उत्पादन सुरु गरे। दर्ताबिनै उत्पादन गर्ने पनि उत्तिकै छन्। माथिका यी दृष्टान्तले अभाव टार्नका लागि औषधी उद्योगीले गरेका केही प्रयासको प्रतिनिधित्व गर्छन्।

नेपालमा २०२९ सालमा औषधी उत्पादन सुरु भएको थियो। औषधी व्यवस्था विभागका अनुसार हाल ६३ वटा कम्पनीले एलोपेथिक औषधी उत्पादन गर्दै आएका छन् र दुई दर्जन कम्पनी प्रक्रियामा छन्। विभागका सूचना अधिकारी सन्तोष केसीले मुलुकभर माग हुने औषधीको ४५ प्रतिशतभन्दा बढी स्वदेशी उत्पादनले पूरा गर्दै आएको बताए। ‘यो अगाडिदेखिकै तथ्यांक हो, अहिले पक्कै पनि बढेको होला,’ सूचना अधिकारी केसीले भने, ‘सामान्य खालका नौ हजार प्रकारका औषधी अहिले नेपालमै उत्पादन हुन्छ।’ उनले भ्याक्सिन र क्रिटिकल केयरका औषधी उत्पादन कम भए पनि दुईवटा कम्पनीले त्यसको पनि उत्पादन थालेको र एउटा कम्पनी पाइपलाइनमा रहेको बताए।

नेपाल औषधी उत्पादक संघका अध्यक्ष जी नारायणबहादुर क्षेत्री नेपाली औषधी उद्योगले अढाइ सय अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेको बताउँछन्। ‘अहिले मुलुकको औषधी मागको ४८ प्रतिशत पूरा गरेको छ बाँकी आयातमा निर्भर छ,’ उनी भन्छन्, ‘आयात गरिने औषधी नेपाली उद्योगले उत्पादन गर्न नसकेर हैन, आयातमा नियन्त्रण गर्न नसक्दा भित्रिएका हुन्।’

उनी अबको दुई वर्षमा मुलुकलाई आवश्यक पर्ने ९० प्रतिशत माग नेपाली उद्योगले पूरा गर्न सक्ने बताउँछन्। ‘सबै उद्योगले अत्याधुनिक मेसिन भित्र्याएका छन्, तर क्षमताको ४० देखि ५० प्रतिशतमात्र उत्पादन गरेका छन्,’ उनी भन्छन्, ‘आयात नियन्त्रण गर्न सके १५ सयदेखि दुई हजार करोडको औषधीको बजार नेपाली उत्पादनले पाउँछन् र उद्योग पनि सक्षम हुन्छन्।’

पछिल्लो समय दुई औषधी उद्योगले निर्यात समेत गर्न थालेका छन्। क्षेत्री औषधीको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको भए पनि लगानी पर्याप्त नहुँदा निर्यात गर्न सक्ने अवस्था नभएको बताउँछन्। ‘नेपाली औषधी उद्योग ब्रेक इभन मै चल्नुपर्ने अवस्था छ, कम्तीमा पूर्ण क्षमतामा चल्न सके र बिक्री बढे आम्दानी हुन्थ्यो र लगानी बढ्थ्यो,’ उनी भन्छन्, ‘देशमै चल्ने वातावरण नहुँदा कसरी निर्यातको बारेमा सोच्नु।’

उनका अनुसार नेपाली औषधी उद्योगमा अहिले ५० देखि ५५ अर्बको लगानी छ। यी उद्योगमा २० हजारभन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन्। निकट भविष्यमै सञ्चालनमा आउने दुई दर्जन औषधी कम्पनीले थप आठदेखि १० हजार रोजगारीका अवसर सिर्जना गर्नेछन्। क्षेत्री अन्य सामग्रीमा जस्तै औषधीमा पनि बिचौलियाकाृ चलखेल भएको बताउँछन्। उनी भन्छन्, ‘हामीले नियन्त्रण गर भनेकै २० वर्ष भयो, सुनुवाइ नै नहुनु यस क्षेत्रमा पनि बिचौलियको हालीमुहाली चल्नु हो।’

विभागका स्ूचना अधिकारी केसी नेपाली औषधी उद्योगले फड्को मार्न सक्ने बलियो सम्भावना देखिएको बताउँछन्। उद्योगीलाई सहुलियत दरमा ऋणको व्यवस्था, विशेष प्रकारका औषधी उत्पादनमा प्रोत्साहन र मूल्य निर्धारण, समायोजनमा सरकारको भूमिका महŒवपूर्ण देखिने उनको भनाइ छ। उनी अहिले नेपालका औषधी उत्पादक कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुरुप उत्पादन गर्न सक्ने भए पनि थप अत्याधुनिक प्रविधिमा उत्पादन गरेर निर्यातयोग्य बन्नुपर्ने देख्छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस