राष्ट्रपति भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढ्यो : महामन्त्री कोइराला

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढेको बताउनुभएको छ । बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा अयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले राष्ट्रपति भण्डारी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताउनुभयो ।

उहाँले,आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको समेत बताउनुभयो । डा. कोइरालाले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समुहबाट एक जना मात्र सभापतिको उमेद्वार हुने बताउनुभयो । आफुहरुको समुहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको समेत स्पष्ट पार्नुभयो ।

कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्नुपर्छ, उहाँले भन्नुभयो। कोइरालाले राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सवैलाई हुने भन्दै अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाँउ हुनुपर्छ ।

कांग्रेसको नेतृत्व परिवर्तनका लागि सवैले त्यागको भावना देखाउने बेला आएको पनि स्पष्ट पार्नुभयो । महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाउनुभयो। कोइरालाले महाधिवेशन हुनका लागि मात्र ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन भनि प्रश्न समेत गर्नुभयो।

कोइरालाले आफुले सभापति देउवालाई सधै सहयोग गरेको भन्दै तर सभापति पार्टीमा एकलौटी गर्न नछोडेकाले आफु पनि सभापतिका विरुद्धमा लाग्न बाध्य भएको स्पष्ट पार्नुभयो । महामन्त्री कोइरालाले अहिले नेकपासंग प्रतिष्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । उहाँले कांग्रेसलाई एकतावद्ध बनाउनका लागि अहिले नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस