नयाँ दिल्ली— जेनरेटिभ एआई (जेनएआई) ले सन् २०३० सम्ममा ३ करोड ८० लाख रोजगारी सिर्जना गर्दै देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने सम्भावना रहेको एक रिपोर्टले देखाएको छ। इवाई भारतको हालै प्रकाशित प्रतिवेदनअनुसार, जेनएआईले संगठित क्षेत्रमा आर्थिक उत्पादनशीलता २ दशमलव ६१ प्रतिशतले वृद्धि गर्न सक्छ, भने असंगठित क्षेत्रमा यसको व्यापक उपयोगबाट थप २ दशमलव ८२ प्रतिशत वृद्धि सम्भव छ। रिपोर्टले विभिन्न उद्योगहरूमा जेनएआईको व्यापक प्रभाव औंल्याउँदै २४ प्रतिशत कार्यहरू पूर्ण रूपमा स्वचालित गर्न सकिने र ४२ प्रतिशत कार्यहरूलाई एआईबाट सुधार गर्न सकिने उल्लेख गरेको छ। यसले ज्ञान आधारित काम गर्ने व्यक्तिहरूलाई हप्ताको ८ देखि १० घण्टा बचत गर्दै उच्च मूल्यका काममा केन्द्रित हुने अवसर प्रदान गर्नेछ।
विशेषगरी सेवाका क्षेत्र, वित्तीय सेवा, स्वास्थ्य सेवा, र खुद्रा व्यापारमा जेनएआईले उपभोक्ताको माग सम्बोधन, सञ्चालन, र सेवा प्रक्रियामा ठूला रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ। त्यस्तै, आईटी—आईटीईएस र बीपीओ क्षेत्रहरूमा महत्त्वपूर्ण सुधार आउनेछ, तर अटोमोबाइल र औषधि उद्योगमा उत्पादकत्व वृद्धिको प्रभाव सीमित रहने अनुमान छ। रिपोर्टअनुसार, विशेष व्यवसाय प्रक्रियाहरूमा, जस्तै, कल सेन्टर व्यवस्थापनमा ८० प्रतिशत, सफ्टवेयर विकासमा ६१ प्रतिशत, सामग्री विकास र वितरणमा ४५ प्रतिशत, ग्राहक सेवामा ४४ प्रतिशत, र बिक्री तथा मार्केटिङमा ४१ प्रतिशतसम्म उत्पादकत्व वृद्धि हुन सक्छ।
तर, यस प्रविधिको प्रभावकारी उपयोगका लागि दक्ष जनशक्तिको अभाव एक प्रमुख चुनौती रहेको छ। रिपोर्टले भारतका मात्र ३ प्रतिशत उद्यमहरूसँग मात्र जेनएआईका लागि आवश्यक जनशक्ति रहेको देखाएको छ, जबकि ९७ प्रतिशत कार्यकारीहरूले दक्षताको अभावलाई प्रमुख बाधा मानेका छन्। पछिल्ला दुई वर्षमा एआई मोडेल निर्माणको लागत ८० प्रतिशतले घटेर प्रति घण्टा रु १२० सम्म पुगेको छ, जसले साना र मझौला उद्यमहरूका लागि एआई प्रविधिको उपयोगलाई सुलभ बनाएको छ। इवाई भारतका अध्यक्ष तथा सीईओ राजीव मेमानीले जेनएआईले उद्योगहरूमा अवसरहरू सिर्जना गर्दै रोजगारी र नवप्रवर्तनमा ठूलो परिवर्तन ल्याउने बताउँदै, यसको फाइदा लिन संस्थाहरूले जनशक्ति विकास र पुनःतालीमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।