गैरकानुनी रुपमा खानी उत्खनन गरेको आरोप तीन चिनियाँ नागरिकलाई कंगोमा सात वर्षको जेल सजाय

 

कंगो— डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी) मा गैरकानुनी रुपमा खानी उत्खनन गरेको आरोपमा तीन चिनियाँ नागरिकलाई सात वर्षको जेल सजाय र ६ लाख अमेरिकी डलर जरिवाना सुनाइएको छ।

यो फैसला पहिलो पटक हो जसले विदेशी खानी दलालहरूलाई कंगोली अधिकारीहरूको अनुमति बिना अनधिकृत खानी उत्खननको लागि दोषी ठहराएको छ।

ती अभियुक्तहरूलाई ठगी, अवैध धन शुद्धिकरण (मनी लन्डरिङ), र चोरीको आरोपमा दोषी ठहराइएको छ। उनीहरूलाई जनवरी ४ मा १० सुनका टुक्रा र ४ लाख अमेरिकी डलर नगद सहित पक्राउ गरिएको थियो।

यो मुद्दाको निर्णयपछि अभियुक्तहरूले यसलाई अन्यायपूर्ण भन्दै अपील गर्ने योजना बनाएका छन्। अभियुक्तका वकिलले यो निर्णय गलत भएको दाबी गरेका छन्।

तर, पीडितहरूको प्रतिनिधित्व गर्ने वकिलले भने यो निर्णयलाई शिक्षाप्रद कदम भन्दै प्रशंसा गरेका छन्। उनीहरूले यो मुद्दाले डीआरसीमा अन्य विदेशी खानी उत्खननकर्ताहरूलाई चेतावनी दिने विश्वास गरेका छन्।

चिनियाँ नागरिकको पक्राउ कंगोमा गैरकानुनी खानी उत्खनन र खनिज तस्करीको रोक्ने प्रयास भईरहेको बेला भएको हो । दक्षिण किभु क्षेत्र, जहाँ यी चिनियाँ नागरिकहरू पक्राउ परेका थिए, त्यहाँ ५४७ भन्दा बढी कम्पनीहरूलाई अवैध रूपमा संचालन गरिरहेको पहिचान गरिएको थियो। जुलाई २०२४ मा, यस क्षेत्रका सबै खानी गतिविधिहरू निलम्बन गरिएको थियो।

गैरकानुनी खानी उत्खननले वातावरणीय क्षति पुर्याउनुका साथै जङ्गली जनावरहरूको संरक्षण क्षेत्रहरूमा प्रभाव पारेको छ। यस क्षेत्रमा करिब १२० भन्दा बढी सशस्त्र समूहहरू स्रोतहरूको लागि प्रतिस्पर्धा गरिरहेका छन्, जसका कारण खानी र खनिज क्षेत्रमा हिंसाका घटना सामान्य भएका छन्।

चिनियाँ कम्पनीहरू दक्षिण किभु क्षेत्रमा सुन र अन्य खनिजको उत्खननमा संलग्न छन्, जसमा केहीले अनुमति बिना नै काम गरिरहेको पहिचान गरिएको छ। २०२१ मा, कंगो सरकारले दक्षिण किभुमा संचालन गरिरहेका ६ चिनियाँ खानी कम्पनीहरूलाई अनुमति बिना काम गरेको आरोपमा निलम्बन गरेको थियो।

यसका साथै, कंगो सरकारले चीनसँग २००८ मा गरिएको ६ दशमलव २ अर्ब अमेरिकी डलरको खानी सम्झौतालाई पुनः वार्ता गरेर खानी उत्खनन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस