नयाँ दिल्ली— अमेरिकी टेक कम्पनी एप्पलले भारत फोर्ज (कल्याणी समूहको एक कम्पनी) सँग भारतमा कम्पोनेन्ट निर्माणका लागि छलफल गरिरहेको छ। द इकोनोमिक टाइम्स का अनुसार, यदि सम्झौता पक्का भएमा, फोर्जले अमेरिकी प्रविधि कम्पनी एप्पललाई मेकानिकल पार्ट्सलगायतका कम्पोनेन्टहरू आपूर्ति गर्नेछ।
यस सम्झौताले भारत फोर्जलाई एप्पलसँग साझेदारी गर्ने पछिल्लो भारतीय कम्पनी बनाउनेछ । यसअघि एप्पले टाटा समूह, मदरसन समूह र एक्वससँग साझेदारी गरिसकेको छ ।
रिपोर्ट अनुसार, एप्पलले भारतका ठूला कम्पनीहरूसँग साझेदारी खोजी गरिरहेको छ र त्यसै क्रममा महाराष्ट्रको पुणेमा आधारित भारत फोर्जसँग प्रारम्भिक छलफल गरेको छ।
हालका वर्षहरूमा, एप्पलले चीनमा निर्भरता घटाउँदै भारतमा आफ्नो आपूर्ति श्रृंखला विस्तार गर्ने रणनीति अपनाएको छ। भारतमा स्थानीय मूल्य अभिवृद्धि बढाउने लक्ष्यसहित, कम्पनीले भारतीय आपूर्तिकर्ताहरूलाई प्राथमिकता दिइरहेको छ।
भारतमा एप्पलका तीनवटा मुख्य आईफोन एसेम्बली प्लान्ट छन्। तामिलनाडुमा रहेको फक्सकनको प्लान्ट सबैभन्दा ठूलो हो। टाटा समूहले तामिलनाडु र कर्नाटकमा थप दुई युनिटहरू सञ्चालन गरिरहेको छ।
अन्य प्रमुख आपूर्तिकर्ताहरूमा सुनवोडा हो जसले ब्याट्री प्याकहरू उपलब्ध गराउँछ, फक्सलिङ्कले केबलहरू आपूर्ति गर्छ भने एक्वसले एनक्लोजर बनाउने गर्छ। एप्पलका पुराना आपूर्तिकर्तामध्ये एक सलकम्पले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरी अब चुम्बकीय कम्पोनेन्टहरू समेत बनाइरहेको छ।
यसका अतिरिक्त, एम्पेरक्स टेक्नोलोजी लिमिटेड एप्पलको प्रमुख ब्याट्री आपूर्तिकर्ता हो ।
भारत फोर्ज भारतको एक प्रमुख निर्माण कम्पनी हो, जसमा करिब ५,००० कर्मचारी कार्यरत छन्। यो कम्पनी अटोमोटिभ, ऊर्जा, एयरोस्पेस र रक्षा क्षेत्रको उत्पादनमा केन्द्रित रहेको छ । ७६ वर्षीय बाबा कल्याणीको नेतृत्वमा सञ्चालन भइरहेको भारत फोर्जसँग विभिन्न सहायक कम्पनीहरू छन् र यसको विश्वव्यापी उपस्थिति पनि निकै मजबुत छ।