नयाँ दिल्ली— भारत र रसिया दुवै देशमा आफ्ना भुक्तानी प्रणालीहरू रुपे र एमआईआरको आपसी प्रयोगबारे महत्वपूर्ण छलफल गरिरहेका छन्। युक्रेन युद्ध सुरु भएदेखि रसियाको बैंकिङ प्रणालीमा पश्चिमी प्रतिबन्धहरू लागेपछि मस्कोले वैकल्पिक भुक्तानी प्रणाली विस्तार गर्ने प्रयास गरिरहेको छ।
एमआईआर भुक्तानी प्रणाली रसियाको केन्द्रीय बैंकको सहायक कम्पनीद्वारा सञ्चालित छ। यसको अवधारणा सन् २०१४ मा रसियाले क्राइमिया कब्जा गरेपछि भिसा र मास्टरकार्डको विकल्पका रूपमा गरिएको थियो। चीनको यूनियनपे रसियामा सञ्चालित केही अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरूमध्ये एक हो।
रसियास्थित भारतीय राजदूत विनय कुमारले सरकारी जर्नल इण्टरनेशनल अफेयरमा दिएको अन्तर्वार्तामा भारतमा रसियाली एमआईआर बैंकिङ कार्ड स्वीकार गर्ने विषयमा सक्रिय छलफल भइरहेको र समाधानको सम्भावना सकारात्मक देखिएको बताएका छन्। भारतीय कूटनीतिक तथा व्यावसायिक निकायहरूले भारत र रसियाबीच पारस्परिक भुक्तानी प्रणालीको स्वीकृतिलाई सहज बनाउन पहल गरिरहेका छन्। उनका अनुसार, भारत—रसिया अन्तर—सरकारी व्यापार तथा आर्थिक सहयोग आयोग जस्ता हालै सम्पन्न बैठकहरूमा रुपे र एमआईआर कार्डहरूलाई परस्पर स्वीकार गर्ने संरचना तयार गर्ने विषयमा केन्द्रित छलफल भएको छ। यदि यो सम्झौता सफल भयो भने, रसियाली पर्यटकहरूले भारतमा सहज रूपमा लेनदेन गर्न सक्नेछन् भने भारतीय नागरिकहरूले पनि रसियामा रुपे कार्ड प्रयोग गर्न सक्ने सुविधा मिल्नेछ। साथै, पश्चिमी प्रतिबन्धका कारण रसियाली वित्तीय प्रणालीमा परेको असरलाई कम गर्न पनि यसले मद्दत गर्नेछ।