इस्लामावाद— नयाँ प्रकाशित युनिसेफको प्रतिवेदन अनुसार पाकिस्तानमा जलवायु परिवर्तनजन्य विपत्तिहरूबाट बालबालिका सबैभन्दा बढी जोखिममा छन्। यसले पाकिस्तानलाई दक्षिण एसियामै जलवायु परिवर्तनको दृष्टिले सबैभन्दा संवेदनशील राष्ट्र बनाएको छ।
प्रतिवेदनले पाकिस्तानका लाखौं बालबालिकामाथि बढ्दो बाढी, खडेरी र चरम मौसम घटनाहरूले गम्भीर असर पार्ने देखाएको छ। यी निष्कर्षहरूले कमजोर समुदायहरूलाई जलवायु परिवर्तनको असरबाट जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरू अपरिहार्य भएको संकेत गर्छन्।
पाकिस्तानको भौगोलिक र सामाजिक—आर्थिक अवस्था जलवायु परिवर्तनको प्रभावका लागि विशेष रूपमा संवेदनशील छ। विस्तृत नदी प्रणाली, हिमनदीहरू तथा कृषि प्रणाली मौसमका निश्चित ढाँचाहरूमा निर्भर भएकाले जलवायु सम्बन्धी परिवर्तनहरू बारम्बार र तीव्र हुँदै जाँदा देशलाई गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ।
पछिल्ला दुई दशकमा पाकिस्तानले बारम्बार बाढी, लम्बिएको खडेरी र चरम तापक्रमको सामना गरेको छ, जसले व्यापक विनाश निम्त्याएको छ। २०२२ को विनाशकारी बाढी यसको उदाहरण हो, जसमा देशको झन्डै एक(तिहाइ भाग जलमग्न भएको थियो। सो घटनाले ३३ मिलियनभन्दा बढी मानिस प्रभावित भए, जसमा १६ मिलियन बालबालिका थिए। विद्यालयहरूको विनाश, पानीको स्रोतहरूको दूषितीकरण र जलजन्य रोगहरूको फैलावटले संकटलाई अझ भयावह बनायो, जसको असर विशेष रूपमा सीमान्तीकृत तथा न्यून आय भएका समुदायका बालबालिकाहरूमा परेको थियो।
युनिसेफको प्रतिवेदन अनुसार जलवायुजन्य विपत्तिहरूको सामना गर्दा बालबालिकाहरू विशिष्ट रूपमा कमजोर हुन्छन्। पाकिस्तानमा ती बालबालिका कुपोषण, अपर्याप्त स्वास्थ्य सेवा र शिक्षामा अवरोधका कारण अझ बढी जोखिममा छन्।
आमाहरूको कुपोषण, खाद्य असुरक्षा तथा गरिबीका कारण नवजात शिशुहरूको स्वास्थ्य अवस्था बिग्रनु स्वाभाविक बनिसकेको छ। बाल्यकालभरि तिनले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको सीमित पहुँच सामना गर्नुपर्छ। बाढीजस्ता विपत्तिहरूले परिवारहरू विस्थापित गर्छन्, महत्वपूर्ण पूर्वाधार ध्वस्त पार्छन् र अस्वास्थ्यकर वातावरण सिर्जना गर्छन्, जसले हैजालगायतका जलजन्य रोगहरू, डेंगु र मलेरियाको प्रकोप निम्त्याउँछ। खडेरीले पानीको अभाव सिर्जना गर्छ, कृषि उत्पादनमा गिरावट ल्याउँछ र खाद्य संकट निम्त्याउँछ, जसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्छ।
शारीरिक असरहरू मात्र नभई जलवायु परिवर्तनका कारण बालबालिकाहरूमा मानसिक तनाव गहिरिँदै गएको देखिएको छ। बाढी र खडेरीजस्ता चरम मौसम घटनाहरूले तिनको सुरक्षा भावनामा असर पार्छन्, जसले दीर्घकालीन मानसिक स्वास्थ्य समस्याहरू जस्तै चिन्ता, डिप्रेसन र पोस्ट(ट्रमाटिक स्ट्रेस डिसअर्डर निम्त्याउन सक्छ।
विस्थापन र आर्थिक समस्याका कारण कैयौं बालबालिकाले विद्यालय छोड्न बाध्य हुन्छन्, जसले उनीहरूलाई थप तनावमा पार्नुका साथै भविष्यका अवसरहरू समेत सीमित बनाउँछ। शिक्षा गरिबीबाट मुक्त हुने प्रमुख माध्यम भएकाले यस प्रकारका अवरोधहरूले व्यक्तिगत मात्र नभई सामाजिक रूपमा समेत गहिरो असर पार्छ।
युनिसेफको प्रतिवेदनले जलवायु परिवर्तनप्रति निष्क्रियताका व्यापक प्रभावहरू देखाएको छ। औद्योगिक राष्ट्रहरूले दशकौँसम्म ग्रीनहाउस ग्यास उत्सर्जन गरी जलवायु परिवर्तनलाई तीव्र बनाएका छन्, जसको असर मुख्य रूपमा विकासशील मुलुकहरूले व्यहोर्नुपरेको छ। पाकिस्तान जस्तो देश, जसको विश्वव्यापी कार्बन उत्सर्जनमा १ प्रतिशतभन्दा कम योगदान छ, जलवायु संकटबाट प्रभावित भइरहेको छ। अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक वित्तीय तथा प्राविधिक सहयोग प्राप्त नहुनुले समस्या झनै चर्किएको छ।
राष्ट्रिय स्तरमा पाकिस्तानको जलवायु प्रतिकार्य सीमित स्रोत, राजनीतिक अस्थिरता र अन्य प्राथमिकताहरूको कारण सीमित छ। कमजोर पूर्वाधार, विपत्तिको लागि अपर्याप्त तयारी, र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सीमित लगानीका कारण लाखौं बालबालिका अझै जोखिममा छन्।
यी चुनौतीहरू समाधान गर्न समग्र विश्वव्यापी दृष्टिकोण आवश्यक छ। सम्पन्न राष्ट्रहरूले पेरिस सम्झौताअनुसार विकासशील मुलुकहरूको जलवायु वित्तीय आवश्यकतालाई सम्बोधन गर्नुपर्छ। यस प्रकारको वित्तीय सहायता विशेष गरी बालबालिकालाई केन्द्रमा राखेर अगाडि बढाइनु आवश्यक छ, जसमा प्रतिरोधात्मक विद्यालयहरूको विकास, सफा खानेपानीको सहज उपलब्धता, र जलवायु प्रभावित क्षेत्रहरूमा स्वास्थ्य पूर्वाधार सुधार गर्ने परियोजनाहरूलाई प्राथमिकता दिइनुपर्छ।
युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले नीति निर्माणमा बालबालिकालाई केन्द्रमा राखेर जलवायु अनुकूलन तथा विपत्तिहरूको व्यवस्थापन रणनीति अगाडि बढाउन पहल गर्न सक्छन्। आपतकालीन सहायता कार्यक्रमहरूले प्रभावित बालबालिकाहरूको पोषण, शिक्षा तथा मानसिक स्वास्थ्य सुरक्षामा केन्द्रित हुनुपर्छ।
युनिसेफको प्रतिवेदनले जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न तत्काल निर्णयात्मक कदम चाल्नुपर्ने कुरा स्मरण गराएको छ। बालबालिकालाई जलवायु परिवर्तनको भयावह असरबाट जोगाउनु मात्र नैतिक दायित्व होइन, दिगो विकासका लागि पनि अत्यावश्यक छ। पाकिस्तान तथा अन्तर्राष्ट्रिय समुदायले बाल अनुकूल जलवायु नीति तथा न्यूनीकरण रणनीतिलाई उच्च प्राथमिकता दिनुपर्छ, जसले आगामी पुस्ताका लागि सुरक्षित र प्रतिरोधात्मक भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ।