हङकङमा एक हप्तामा २०० मिलियन हङकङ डलर ठगी, एआई–आधारित ‘भ्याइस क्लोनिङ’को प्रयोग

 

हङकङ— गत महिनाको एक हप्तामा मात्रै हङकङबासीहरूले अनलाइन ठगीका कारण २०० मिलियन हङकङ डलर (करिब २५ दशमलव ७ मिलियन अमेरिकी डलर) गुमाए। ठगहरूले प्रविधिको दुरुपयोग गर्दै एआई (कृत्रिम बुद्धिमत्ता) मार्फत भ्याइस क्लोनिङ प्रयोग गरी एउटा ठगी प्रकरणमा मात्र १४५ मिलियन हङकङ डलर ट्रान्सफर गराउन सफल भए।

पीडित एक व्यापारीले क्रिप्टोकरेन्सी माइनिङ उपकरण किन्न खोज्दा ठगहरूको सिकार बनेको बताए। उनले व्हाट्सएप मार्फत आफूलाई चिनियाँ कम्पनीका प्रतिनिधि ठानेर कुराकानी गरे।
व्यापारीले कम्पनीका वित्तीय व्यवस्थापकबाट आएको जस्तो लाग्ने ध्वनि सन्देशहरू प्राप्त गरेको बताए ।

त्यसपछि, निर्देशनअनुसार, उनले तीन किस्तामा गरी १४५ मिलियन हङकङ डलर बराबरको यूएसडीटी क्रिप्टोकरेन्सी ठगहरूको वालेटमा पठाए। पछि मात्र उनले ठगी भएको थाहा पाए।

जाँच गर्दा वास्तविक वित्तीय व्यवस्थापकले आफ्नो व्हाट्सएप खाता ह्याकरहरूले ह्याक गरेको थाहा पाए।
‘ठगहरूले एआई प्रयोग गरी वित्तीय व्यवस्थापकको स्वर नक्कल गरेर ठगी गरेका हुनसक्छन्’, प्रहरीको भनाइ छ।

हङकङका प्रहरी आयुक्त रेमन्ड सिउ चाक—यीले हालै ठगीको दर उच्च हुँदै गएकाले सतर्क रहन आग्रह गरे। विशेष गरी राम्रो सम्बन्ध बनाउन थालेपछि लगानीको नाममा ठगी गर्ने योजनाहरू बढी देखिएको उनले बताए।

एक महिलाले आफ्नै फ्ल्याट भाडामा दिन खोज्दा व्हाट्सएपमार्फत अपरिचित व्यक्तिसँग कुराकानी गरिन्।
त्यो व्यक्तिले प्रेमभाव देखाउँदै उपहारहरू समेत पठायो। अन्त्यमा, ूमैले लगानीसम्बन्धी एउटा राम्रो योजना पाएको छुू भन्दै झूटो क्रिप्टोकरेन्सी प्लेटफर्ममा लगानी गराउन लगाइयो।
पीडित महिलाले ७ मिलियन हङकङ ट्रान्सफर गरिन्, तर पैसा गएपछि ठग सम्पर्कविहीन भए।

प्रहरीले जनता सतर्क रहन आग्रह गर्दै, स्क्यामिटर खोजी प्रणाली प्रयोग गर्न सुझाव दिएको छ। यसले ठगीका वेबसाइटहरू पहिचान गर्न मद्दत गर्छ। आउँदो स्प्रिङ ल्यान्टर्न फेस्टिवल (चिनियाँ भ्यालेन्टाइन डे) र भ्यालेन्टाइन डे नजिकिएसँगै ठगीको जोखिम अझ बढ्नसक्ने चेतावनी पनि प्रहरीद्वारा दिइएको थियो।

प्रतिक्रिया दिनुहोस