चीनको उच्च गतिको रेल परियोजना ऋण संकट र अनियन्त्रित विस्तारका कारण थप समस्या

 

बेइजिङ— चीनको उच्च गतिको रेल परियोजना आर्थिक रूपमा संकटग्रस्त बन्दै गएको छ। अत्यधिक ऋण, न्यून यात्रु संख्या, अनियन्त्रित विस्तार र कमजोर वित्तीय अवस्थाका कारण यसको दिगोपनमाथि प्रश्न उठेको छ। चाइना स्टेट रेल्वे ग्रुपले यसको ऋण—अचल सम्पत्ति अनुपात ६३ दशमलव ८ प्रतिशत पुगेको स्वीकार गरेको छ, जुन स्वस्थ ५० प्रतिशतको तुलनामा निकै उच्च हो। सन् २०३५ भित्र ७०,००० किलोमिटर उच्च गतिको रेल्वे सञ्जाल विस्तार गर्ने महत्वाकांक्षी लक्ष्यका साथ चीनले लगानी गरिरहेको छ, जसले गर्दा असह्य ऋणको भार थपिएको छ।

विज्ञहरूका अनुसार चीनको उच्च गतिको रेल परियोजना अहिले ‘धन निल्ने खाडल’ मा परिणत भएको छ। चाइना स्टेट रेल्वे ग्रुपको ऋण लगभग १ ट्रिलियन अमेरिकी डलर पुग्न लागेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको पूर्वाधारमा केन्द्रित आर्थिक मोडेल अन्तर्गत उच्च गतिको रेल विस्तार गरिएको हो, जसको उद्देश्य व्यक्तिगत सम्पत्ति वृद्धि गर्नु र कम्युनिस्ट पार्टीको पकड मजबुत बनाउनु थियो।

बेइजिङ जियाओतोंग विश्वविद्यालयका प्राध्यापक झाओ जियानले २०१९ मै चीनलाई अनावश्यक रूपमा कम जनघनत्व भएका क्षेत्रमा उच्च गतिको रेल विस्तार गर्दै वित्तीय संकट निम्त्याउने चेतावनी दिएका थिए। उनले भनेका थिए, ‘विश्वको सबैभन्दा ठूलो उच्च गतिको रेल सञ्जाल हुनु भनेको ठूलो वित्तीय जोखिमको संकेत हो। यस्तो परियोजनाले स्थानीय सरकारहरूलाई पनि ऋणको भारी बोझ थप्नेछ।’

यस ऋण संकटको पछाडि स्थानीय सरकारहरूको आफ्नै स्वार्थ पनि रहेको छ। हङकङका व्यवसायी तथा लेखक डेसमण्ड शुमका अनुसार, रेल निर्माणपछि जमिनको मूल्यवृद्धि भई फाइदा हुने अपेक्षा थियो। तर, चीनको रियल स्टेट बजार खस्कँदा यो रणनीति असफल भएको छ। अपेक्षित आम्दानी नहुँदा स्थानीय सरकारहरू ऋणको भारमा डुबेका छन्।

रियल स्टेट बजारको मन्दी र समग्र आर्थिक सुस्तीका कारण धेरै रेल परियोजनाहरू नाफामा जान असफल भएका छन्, जसले अझ बढी वित्तीय संकट सिर्जना गरेको छ। वित्तीय संस्था एसएण्डपी ग्लोबलका अनुसार, निर्माण अधूरै छोडिएका परियोजनाहरूले थप समस्या सिर्जना गरेका छन्, जसले अचल सम्पत्तिको संख्यामा वृद्धि गरिरहेको छ।

पहिले आर्थिक वृद्धिको सूचक मानिएको उच्च गतिको रेल अब चीनको ऋण संकटको कारक बन्दै गएको छ। अमेरिकी संस्था एलायन्स फर इनोभेसन एण्ड इन्फ्रास्ट्रचरका अनुसार, चीनले आफ्नो रेल सञ्जाललाई विश्वकै ठूलो भन्दै गर्व गरेको छ, तर अधिकांश मार्गहरू घाटामा छन्। ठूला सहरहरूबीचका मार्गहरूले मात्र नाफा कमाइरहेका छन्, जबकि ग्रामीण क्षेत्रका स्टेशनहरू प्रयोगविहीन भएका छन्।

विश्लेषकहरूका अनुसार, यात्रु संख्यामा उल्लेखनीय वृद्धि नहुँदा पनि चीनले उच्च गतिको रेल विस्तारलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस