पाकिस्तानमा नक्कली विद्यार्थीको बिगबिगी

इस्लामाबाद— पाकिस्तानको सरकारले प्रविधिमा ठूलो लगानी गरे तापनि नक्कली विवरण पहिचान गर्ने संयन्त्रको अभाव अहिले पनि व्यापक छ। यसको कारणले मेहनती र योग्य व्यक्तिहरू अवसर गुमाउँदैछन्, जबकि नक्कली प्रमाणपत्र बनाएकाहरुले विभिन्न अवसरहरू पाइरहेका छन्।

हालैको एक रिपोर्टअनुसार, कराँचीका कम्तीमा १०० चिकित्सा विद्यार्थीहरूले नक्कली कागजात प्रयोग गरी कराँचीको कोटामा मेडिकल कलेजहरूमा भर्ना लिएका थिए। यी विद्यार्थीहरूले मेट्रिक र इन्टरमेडिएट परीक्षा पञ्जाब, इस्लामाबाद वा सिन्धका अन्य जिल्लाबाट उतीर्ण गरेका थिए। यद्यपि, स्थानान्तरणका केही असाधारण अवस्थामा यस्तो सम्भव छ, तर सामान्यतः यस्तो कमै मात्र हुन्छ। यसले अधिकांश विद्यार्थीहरूले नक्कली कागजात पेश गरेर प्रवेश परिक्षामा सहभागि भएकाथिए, जसले कराँचीका सात जिल्लाका वास्तविक विद्यार्थीहरु अन्याय परेका छन् ।

सबैभन्दा चिन्ताजनक पक्ष के छ भने, उनीहरू केवल संयोगवश कम्युटराइज्ड नेशनल आइडेण्टी कार्ड (सीएनआईसी) डेटा जाँच गर्दा समातिए। यसको अर्थ, सरकारले प्रवेश प्रक्रियामा सीएनआईसी चेकजाँच गर्ने प्रभावकारी प्रणाली बनाएको छैन। यदि यो प्रक्रिया अनिवार्य रूपमा लागू गरिएको भए, नक्कली विद्यार्थीहरू पहिल्यै समातिन सक्थे, जसले वास्तविक योग्य विद्यार्थीहरूलाई अवसर गुमाउनु पर्ने अवस्थाबाट जोगिने थियो।

नक्कली कागजातहरूको प्रयोग अझै व्यापक रहनु सरकारको कमजोरी दर्शाउँछ। यसले केवल सरकारी निकायहरू मात्र होइन, व्यवसाय र शैक्षिक संस्थाहरूले पनि आधिकारिक कागजातहरूको प्रमाणीकरणलाई गम्भीरतापूर्वक नलिएको देखाउँछ। यसले योग्य विद्यार्थीहरू र नागरिकहरूको अधिकारमाथि अक्षम्य अन्याय गरिरहेको छ।

सरकारले सबै रोजगारदाता र शैक्षिक संस्थाहरूलाई सीएनआईसी मार्फत प्रमाणिकरण अनिवार्य गर्न सक्ने कानुन ल्याउनुपर्छ। प्रमाणीकरण प्रक्रिया सजिलो, द्रुत र डिजिटल बनाउन आवश्यक छ। साथै, नक्कली कागजात प्रयोग गर्नेहरूलाई कडा कानुनी कारबाही गरिनुपर्छ। सरकारी निकाय तथा ठूला संस्थाहरूले बिना प्रमाणीकरण कागजात स्वीकार गरेमा तिनलाई ठूलो जरिवाना वा अन्य कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ।

यदि यी सुधारहरू तत्काल लागू गरिएन भने, योग्य तथा मेहनती नागरिकहरू ठगहरूका कारण अन्याय सहन बाध्य हुने अवस्था जारी रहनेछ। पाकिस्तानी सरकारको ध्यान अब प्रविधिमा लगानी गर्ने होइन, तिनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनुपर्छ।

(पाकिस्तानी पत्रिका ट्रिब्यूनमा छापिएको सम्पादकीयको भावानुवाद गरिएको—सं)

प्रतिक्रिया दिनुहोस