नयाँ दिल्ली— नयाँ दिल्लीः भारतीय उद्योग रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) ले प्रतिष्ठित फ्युचरब्राण्ड इण्डेक्स २०२४ मा दोस्रो स्थान हासिल गर्दै विश्व चर्चित प्रविधि कम्पनी एप्पललाई पछि पारेको छ। यो उपलब्धिसँगै पहिलो पटक कुनै भारतीय कम्पनीले शीर्ष तीन स्थानमा प्रवेश गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा भारतीय कम्पनीहरूको बढ्दो प्रभाव दर्शाउँछ।
फ्युचरब्राण्ड इण्डेक्स २०२४ अनुसार, रिलायन्स २०२३ मा १३औं स्थानमा रहे पनि २०२४मा एकै पटक दोस्रो स्थानमा उक्लिएको छ। यसले कम्पनीको बलियो ब्रान्ड छवि, उपभोक्ताको विश्वास, र ऊर्जा, दूरसञ्चार, रिटेल जस्ता विभिन्न उद्योगहरूमा रणनीतिक वृद्धिलाई प्रतिबिम्बित गर्छ।फ्युचरब्राण्ड इण्डेक्सले कम्पनीहरूको वित्तीय प्रदर्शनभन्दा ब्रान्ड छविको आधारमा मूल्याङ्कन गर्छ। २०१४ मा शीर्ष १० मध्ये ७ कम्पनी अमेरिकी थिए, तर २०२४ सम्म आइपुग्दा केवल ४ अमेरिकी कम्पनी मात्र शीर्ष १० मा छन्, जबकि एशिया—प्यासिफिक र मध्यपूर्वका ५ कम्पनीले स्थान पाएका छन्।
सामसुङ २०२३ को ५औं स्थानबाट उक्लेर पहिलो स्थानमा पुगेको छ। यसको प्रमुख कारण व्यक्तित्व, नवीनता, र ब्रान्ड कथावाचनमा उत्कृष्टता रहेको छ। उता, एप्पल २०२३ को पहिलो स्थानबाट खस्केर तेस्रो स्थानमा पुगेको छ, तर ग्राहक वफादारी र उत्कृष्ट ग्राहक अनुभवका कारण बलियो ब्रान्डको रूपमा कायम छ।
फाइनान्स क्षेत्र सबैभन्दा बलियो देखिएको छ, १५ मध्ये १० ब्रान्डले सुधार देखाएका छन्। स्वास्थ्य क्षेत्र सङ्कटमा छ, १५ मध्ये १० ब्रान्डको स्थान तल झरेको छ। सूचना प्रविधि क्षेत्र मिश्रित अवस्थामा छ, ९ कम्पनी उक्लिए भने ११ तल झरे। अल्फाबेट (गुगल) २०१४ मा पहिलो स्थानमा रहेर २०२४ मा ५७औं स्थानमा खस्कियो भने मेटा (फेसबुक) ११औं स्थानबाट ५२औं स्थानमा पुगेको छ ।
फ्युचरब्राण्ड इण्डेक्स २०२४ ले एशिया—प्यासिफिक र मध्यपूर्वले ब्रान्ड निर्माणमा ठूलो लगानी गरिरहेका छन्, जसले पश्चिमी देशहरूलाई चुनौती दिइरहेको छ। रिलायन्सको उन्नति भारतीय व्यवसायहरूको लागि प्रेरणादायी बनेको छ।