पत्रकारिता सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारिता र आम सञ्चारमाध्यमको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई राप्ती उपत्यका (देउखुरी)मा आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले स्थापनाकालदेखि नै पत्रकारिता सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो ।

“पत्रकारिता क्षेत्रको सशक्तीकरण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले नीति, नियम तथा कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गरेरै अघि बढ्दै आएको छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “अहिले रोकिएको विषयप्रति म जानकार छु । पत्रकारिता क्षेत्रका सरोकारवालासँगको साझा निष्कर्षका आधारमा अगाडि बढ्नेछौँ ।”

उहाँले पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक कानुन संशोधन गर्ने तथा पत्रकार हितलाई संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो । “प्रदेश सरकारले राम्रा कामको थालनी गरेको छ । पत्रकारिता कल्याणकारी कोष स्थापना गरेर उदाहरणीय कार्य अघि बढाएका छौँ, “पत्रकारिता क्षेत्रलाई निरन्तर प्रोत्साहन दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले प्रेस स्वतन्त्रताका नाममा सामाजिक सञ्जालमा फैलिरहेको अराजक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । “सामाजिक सञ्जाललाई मर्यादित बनाउन जरुरी छ । अराजकता फैलाउने छुट कसैलाई छैन, पत्रकारिता क्षेत्रमै विकृति र विसङ्गति देखिएको छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षको ध्यान जान आवश्यक छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस