इस्लामाबाद— पाकिस्तान ग्लोबल टेररिज्म इंडेक्स २०२५ मा दोस्रो स्थानमा उक्लेको छ । पाकिस्तानमा आतंकवादी आक्रमणबाट मृत्यु हुनेको संख्या ४५ प्रतिशतले वृद्धि भई १,०८१ पुगेको छ। इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस (आइईपी) द्वारा प्रकाशित १२औं वार्षिक रिपोर्ट अनुसार पाकिस्तानमा २०२४ मा १,०९९ आतंकवादी हमला भएका छन्, जुन २०२३ को ५१७ हमलाको तुलनामा दोब्बर बढी हो। पाकिस्तानमा एकै वर्ष १ हजार भन्दा बढी आतंकवादी हमला भएको पहिलो पटक हो ।
रिपोर्टअनुसार पाकिस्तानमा आतंकवादको दर लगातार पाँच वर्षदेखि बढिरहेको छ। हालैको वर्षमा आतंकवादी गतिविधिहरूको कारणले विश्वभर ४५ देशहरूमा स्थिति झनै बिग्रिएको देखिएको छ, जुन पछिल्लो दशकको सबैभन्दा उच्च वृद्धिदर हो। विशेषगरी, पाकिस्तान, बुरकिना फासो र सिरिया विश्वभर आतंकवादी हमलाबाट सबैभन्दा बढी प्रभावित देशहरू हुन्। पाकिस्तानमा आतंकवाद गतिविधी गर्ने प्रमुख समूह तेहरीक—ए—तालिबान पाकिस्तान (टीटीपी) रहेको छ, जसको आक्रमणमा ९० प्रतिशत वृद्धि देखिएको छ। रिपोर्टका अनुसार टीटीपीले २०२४ मा ४८२ हमला गर्दै ५५८ जनाको हत्या गरेको छ, जुन २०२३ मा भएका २९३ मृत्यु घटनाभन्दा ९१ प्रतिशत बढी हो।
पाकिस्तानका लागि सबभन्दा संवेदनशील क्षेत्रहरूमा बलुचिस्तान र खैबर पख्तूनख्वा रहेका छन्, जहाँ पाकिस्तानमा भएका कुल आतंकवादी घटनामध्ये ९६ प्रतिशत हमला र मृत्यु भएका छन्। बलुचिस्तानमा सक्रिय बलुचिस्तान लिबरेशन आर्मीले २०२४ मा पाकिस्तानकै सबैभन्दा घातक हमला क्वेट्टा रेलवे स्टेशनमा गरेको थियो, जसमा कम्तीमा २५ जना सैनिक र सर्वसाधारण मारिएका थिए। बलुच विद्रोही समूहहरू र बलुचिस्तान लिबरेशन फ्रन्टले आक्रमणहरूको दर तीव्र पार्दै २०२३ मा ११६ हमला गरेका थिए भने २०२४ मा ५०४ आक्रमण गरेका छन्। यस्तै, बलुचिस्तानमा मात्र आतंकवादी घटनाबाट मृत्यु संख्या ८८ बाट ३८८ पुगेको छ, जुन चारगुना वृद्धि हो।
पाकिस्तानमा आतंकवादको वृद्धिसँगै अफगानिस्तानको तालिबान शासनको प्रभाव झनै देखिन थालेको छ। तालिबानले अफगानिस्तानमा सत्ता सम्हालेपछि टीटीपीले अफगान सीमा क्षेत्रमा आफ्नो गतिविधिहरू तीव्र बनाएको छ। रिपोर्टका अनुसार, अफगान भूमिबाट संचालित आतंकवादी समूहहरूले पाकिस्तान—अफगानिस्तान सीमा क्षेत्रमा हमला बढाएका छन्, जसका कारण विशेष गरी बलुचिस्तान र खैबर पख्तूनख्वामा सुरक्षा चुनौती थप जटिल बनेको छ। टीटीपीले पछिल्लो एक वर्षमा पाकिस्तानका सुरक्षा निकाय र सैन्य संरचनाहरूलाई मुख्य निशाना बनाएको छ।
बलुच समूहहरूले चीन—पाकिस्तान इकोनोमिक करिडोरमा पनि आक्रमण बढाएका छन्। रिपोर्टअनुसार बलुच लडाकूहरूले चिनियाँ परियोजनाहरूलाई स्थानीय समुदायको शोषण र प्राकृतिक स्रोतको दोहन गरेको आरोप लगाएका छन्। बलुचिस्तानका विद्रोहीहरूले सीपेक अन्तर्गतका चिनियाँ लगानीका परियोजनाहरूमा हमलाहरू तीव्र बनाएका छन्।
पाकिस्तान सरकारले आतंकवाद नियन्त्रण गर्न अपरेशन अज्म—ए—इस्तेहकाम अभियान घोषणा गरेको छ। सुरक्षाबलहरूलाई अझ बलियो बनाइ आतंकवादी समूहहरूमाथि दबाब बढाउने योजना ल्याइएको छ। तर, रिपोर्टअनुसार आतंकवाद नियन्त्रणका लागि पाकिस्तान सरकारले थप प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ।