ताइपेईः अमेरिकी थिंक ट्यांकले चीनले अन्तर्राष्ट्रिय अपराधी समूहहरू प्रयोग गरी पलाउमा आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । यसले ताइवानसँगको कूटनीतिक सम्बन्धलाई असर गर्न सक्ने चेतावनी दिएको छ । ताइपेई टाइम्सका अनुसार, चीनले शैक्षिक, व्यापारिक र सांस्कृतिक क्षेत्रका विभिन्न योजनाहरूका साथै अपराधी गिरोहहरूको लगानीमार्फत पलाउमा आफ्नो पकड जमाउने रणनीति अपनाएको छ।
चिनियाँ व्यवसायी चेन झीले स्थापना गरेको प्रिन्स ग्रुप नामक एक चिनियाँ—कम्बोडियन कम्पनी यस अभियानको एक हिस्सा भएको रिपोर्टले उल्लेख गरेको छ। यो समूह मनी लन्डरिङ, अनलाइन ठगी र मानव तस्करीमा संलग्न रहेको आरोप लागेको छ।
रिपोर्टअनुसार, प्रिन्स ग्रुपले पलाउमा १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानीमा रिसोर्ट निर्माणको प्रस्ताव समेत राखेको छ। हालैका केही होटेल परियोजनाहरू पनि चीनसँग जोडिएको बताइएको छ।
प्यासिफिक इकोनोमिक्स थिंक ट्यांकले पलाउ सरकारलाई अबैध लगानी रोक्न तथा ताइवान, अस्ट्रेलिया र अमेरिकाबाट हुने सकारात्मक लगानीलाई प्रवर्द्धन गर्न सल्लाह दिएको छ।
यद्यपि पलाउले आधिकारिक रूपमा ताइवानलाई मान्यता दिएको छ र चीनको ‘वन चाइना नीति’ अस्वीकार गरेको छ, तर अपराधी संगठनहरू चीनको कूटनीतिक प्रयासहरूलाई परिपूरण गर्न प्रयोग गरिँदै आएको थिंक ट्यांकका सहसंस्थापक जेरोड बेकरले बताए।
बेकरका अनुसार, यी अपराधी समूहहरू चीनका लागि गुप्त रूपमा पैसा, मान्छे र अन्य स्रोत ल्याउन प्रयोग गरिन्छन्।
यस्ता आपराधिक गिरोहहरूले पलाउको लगानी छवि बिगार्न सक्छन्, पर्यटन उद्योगलाई असर गर्न सक्छन्, र पलाउको सार्वभौमिकतामै खतराको संकेत दिन सक्छन्।
ताइपेईमा, ताइवानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा चिनियाँ व्यवसायीहरू र अपराधी संगठनहरू भूमि विकास र लगानीको नाममा पलाउमा वर्षौंदेखि घुसपैठ गरिरहेको उल्लेख गरेको छ । मन्त्रालयले यस्ता गतिविधिहरूलाई आर्थिक रूपले पलाउलाई कमजोर पार्ने षड्यन्त्र भन्दै कडा आलोचना गरेको छ।
मन्त्रालयले चीनको रणनीति र ताइवानको सकारात्मक भूमिका बीच तुलना गर्दै ताइवानले पलाउका व्यवसायहरूलाई प्रवर्द्धन गर्न, लगानी आकर्षित गर्न र आर्थिक समृद्धि बढाउन योगदान दिएको बताएको छ।
पलाउका राष्ट्रपति सुराङ्गेल विप्स जुनियर, जसले सन् २०२१ देखि ताइवानको समर्थन गर्दै आएका छन् । उनले चीनले पर्यटनलाई हतियारका रूपमा प्रयोग गरेर पलाउलाई दबाब दिन खोजेको आरोप दोहोर्याएका छन्।