बेइजिङ – चीनमा जेल परेका पत्रकार डोङ युयुको छोराले आफ्ना पिताको रिहाइको माग गर्दै सार्वजनिक अपिल गरेका छन्।
उनले चीनमा खस्कँदो प्रेस स्वतन्त्रता र राजनीतिक दमनप्रति चिन्ता व्यक्त गरेका छन्। डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाइएको छ। फेब्रुअरी २४ मा वाशिंगटन डीसीस्थित नेशनल प्रेस क्लबमा पत्रकारहरूसँग बोल्दै उनका छोरा डोङ यिफुले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)लाई आफ्ना पितालाई तुरुन्त रिहा गर्न अपिल गरे।
डोङ युयु चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सञ्चालित ग्वाङमिङ डेलीका वरिष्ठ सम्पादक थिए। उनी मध्यमार्गी राजनीतिक सुधारको पक्षधर र विदेशी विद्वान तथा पत्रकारहरूसँग संवादमा विश्वास राख्ने व्यक्ति थिए। सन् २०२२ मा एक जापानी कूटनीतिज्ञसँग भेटघाट गरिरहेका बेला उनलाई पक्राउ गरिएको थियो । चिनियाँ अधिकारीहरूले उक्त भेटलाई जासुसीको प्रमाणको रूपमा प्रयोग गर्दै उनीविरुद्ध आरोप लगाएका थिए। पत्रकारिता र कूटनीतिक समुदायमा उनलाई एक सुधारवादी संवादकर्ताका रूपमा चिनिन्थ्यो, जसले सत्ता विरोध भन्दा पनि स्वस्थ बहसलाई समर्थन गर्थे।
चीन सरकारले पत्रकार, कार्यकर्ता तथा बौद्धिक व्यक्तिहरूलाई चुप गराउन जासुसी आरोपको व्यापक प्रयोग गर्दै आएको छ। रिपोर्टर्स विथआउट बोर्डर्स लगायतका संस्थाहरूले चीनले प्रेस स्वतन्त्रतामाथि दमन गर्दै गैरन्यायिक सजाय दिने कार्यको कडा विरोध गरेका छन्। राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सीसीपीले सत्ता सुदृढ पार्ने क्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कडा नियन्त्रण कायम गरेको छ। राष्ट्रिय सुरक्षासम्बन्धी अस्पष्ट कानुनहरू प्रयोग गरेर सरकार विरोधी आवाजहरूलाई दबाउने रणनीति अपनाइएको देखिन्छ।
विश्लेषकहरूका अनुसार डोङ युयुको कैद चिनियाँ कम्युनिस्ट पार्टीभित्रको राजनीतिक सङ्घर्षको एक उदाहरण हो। राष्ट्रपति सी जिनपिङले आफ्नो सत्ता मजबुत बनाउन सुधारवादी विचार राख्ने वा विदेशी सम्पर्क राख्ने व्यक्तिहरूलाई दमन गरिरहेका छन्। विदेशी पत्रकार, कूटनीतिज्ञ वा विद्वानहरूसँगको कुनै पनि भेटघाटलाई जासुसीको रूपमा चित्रित गर्ने प्रवृत्ति बढ्दो छ। यो अभियान पत्रकारितासम्म सीमित छैन—व्यवसायी, प्राध्यापक, सामाजिक अभियन्ताहरू समेत यसको शिकार भइरहेका छन्।
डोङ युयुको जेल सजायको अन्तर्राष्ट्रिय समुदायबाट व्यापक आलोचना भइरहेको छ। मानव अधिकार संगठनहरू जस्तै एम्नेस्टी इन्टरनेशनल र आरएफए ले चीनलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारहरूलाई लक्षित गर्ने कार्य रोक्न आग्रह गरेका छन्। अमेरिकी विदेश मन्त्रालयले पनि चीनमा पत्रकारहरूमाथि गरिएको अन्यायको निन्दा गरेको छ। डोङ यिफुको अपिलले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ, जसले चीनमा प्रेस स्वतन्त्रतामाथि भइरहेको दमनको विरुद्ध दबाब बढाउने अपेक्षा गरिएको छ।
चीन पत्रकारहरूका लागि सबैभन्दा खतरनाक मुलुकहरूमध्ये एक बनेको छ। वर्ल्ड प्रेस फ्रीडम इन्डेक्समा चीन अन्तिम स्थानहरूमा पर्दछ। डोङ युयुको पक्राउले पत्रकारहरू गम्भीर खतरामा छन् भन्ने देखाउँछ । उनीमाथिको सजायले जो—कोहीलाई चेतावनी दिन्छ कि सत्ताको आधिकारिक धारणा भन्दा फरक बोल्नु गम्भीर परिणाम निम्त्याउन सक्छ। चीनभित्रको राजनीतिक अस्थिरता बढ्दै जाँदा पत्रकारहरूलाई लक्षित गर्ने प्रवृत्ति अझ बढ्न सक्छ।
डोङ युयुको पक्रउ केवल एक पत्रकारको कथा मात्र होइन, यो चीनमा अभिव्यक्ति स्वतन्त्रताको भविष्यबारेको लडाइँ हो। यदि अन्तर्राष्ट्रिय समुदायले आवाज उठाएन भने, यस्ता घटनाहरू झन् बढ्नेछन्। डोङ यिफु जस्तै अरूले पनि आफ्ना परिवारका सदस्यहरूको लागि न्याय मागिरहेका छन्। यो लडाइँ केवल एक व्यक्तिको मात्र होइन, चीनमा सत्य, पारदर्शिता र स्वतन्त्रताको लागि गरिने संघर्षको प्रतिबिम्ब हो।