पाकिस्तानको लाहोरमा हनी—ट्र्याप गिरोह पक्राउ, अपहरण र ब्ल्याकमेलिङमा संलग्न प्रहरीसमेत पक्राउ

 

लाहोर— पाकिस्तानको महानगरीय प्रहरीको विशेष टोलीले कोट लखपत क्षेत्रमा अपहरण, यातना र फिरौती असुलीमा संलग्न रहेको हनी—ट्र्याप गिरोह पक्राउ परेको छ।

गिरोहमा युवतीहरू सहित प्रहरी अधिकारीहरू संलग्न रहेको खुलासा भएको छ। प्रहरीले उक्त गिरोहका तीन प्रहरी र तीन महिलासहित कुल छ जना अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, यो गिरोह तीन जना प्रहरी अधिकारीहरूले सञ्चालन गरेका थिए, जसले युवतीहरूलाई प्रयोग गरी व्यक्तिलाई फसाउने रणनीति अपनाएका थिए। अनुसन्धान अनुसार, मोडल टाउन निवासी कमरान अब्बास नामका युवकलाई एक युवतीले टिकटकमार्फत दोस्ती गाँसेर झुक्याएकी थिइन्। उनले चन्द्राइ रोडको एक स्थानको लोकेसन पठाउँदै डेटका लागि बोलाइन्।

जब अब्बास उक्त स्थानमा पुगे, ती युवतीले उनलाई एक कोठामा लगिन्, जहाँ पहिल्यै चार जना हतियारधारी मानिसहरू बसेका थिए। ती व्यक्तिहरूले बन्दुक देखाएर उनलाई नियन्त्रणमा लिए र यातना दिए। उनीहरूलाई बन्दुकका कुन्दा, मुक्का र लात हानेर अमानवीय व्यवहार गरेका थिए। फिरौती नदिएसम्म नछाड्ने धम्की दिएका ती अपराधीहरूले यातनाको भिडियोसमेत खिचे, जुन पछि सामाजिक सञ्जालमा भाइरल बन्यो। भिडियोमा पीडित युवाले रोइकराइ गर्दै ‘जे लिनुछ लिनुस्, तर मलाई छोडिदिनुस्’ भनी अनुरोध गरिरहेको देखिन्छ। उनले आफ्नो परिवार र समाजमा बदनामी हुने डर व्यक्त गर्दा पनि अपराधीहरूले यातना दिन बन्द गरेनन्।

प्रहरी अनुसन्धानले यो गिरोहले विभिन्न व्यवसायी, चर्चित व्यक्तित्व र प्रभावशाली व्यक्तिहरूलाई युवतीहरू (मोडल तथा अभिनेत्रीहरू समेत) को माध्यमबाट फसाइ पैसा असुल्ने गरेको थियो। यसअघि पनि, सन् २०२३ को जुलाई महिनामा लाहोर प्रहरीले दुई महिलासहित नौ जनालाई एक प्रतिष्ठित नाटककारलाई हनीट्र्याप गरी अपहरण तथा लुटपाट गरेको आरोपमा पक्राउ गरेको थियो।

त्यस्तै, २०२४ को अगस्ट महिनामा गुलबर्ग प्रहरीद्वारा एक व्यवसायीलाई होटलमा बोलाई ब्ल्याकमेल तथा यातना दिएर अपमानजनक भिडियो बनाउने आरोपमा दुई महिलालाई पक्राउ गरिएको थियो, जसमा एक जना चिकित्सकसमेत सामेल थिइन्। यो घटनामा पञ्जाबका एक उपमहान्यायवादी समेत संलग्न रहेको रिपोर्ट गरिएको थियो।

एक वरिष्ठ वकिललाई समेत महिलाको माध्यमबाट फसाई ब्ल्याकमेल गरी पैसा असुल्ने गिरोहको गतिविधि पनि लाहोरमा दर्ता गरिएको थियो।

हालैको घटनामा, लाहोर अपरेशन्स डीआईजी फैसल कमरानले तीन जना प्रहरी नै मुख्य योजनाकार रहेको पुष्टि भएपछि अनुसन्धानको दायरा बढाएका छन्। ती प्रहरी अधिकारीहरूले यसअघि पनि सोही युवतीहरू प्रयोग गरी कैयौं व्यक्तिलाई फसाएका थिए। डीआईजीले दोषी प्रहरीहरूलाई सेवाबाट निलम्बन गर्दै विभागीय कारबाही तथा निष्कासन प्रक्रिया अगाडि बढाएका छन्। साथै, प्रहरी विभागलाई बदनाम गर्ने कार्यमा संलग्न भएकाले उनीहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस