वासिङ्टन डीसी — अमेरिकी प्रतिनिधि सभाले चीनसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ, जसअन्तर्गत होमल्यान्ड सेक्युरिटी विभागलाई चिनियाँ कम्पनीहरूद्वारा उत्पादित ब्याट्री खरिद गर्नबाट रोक लगाइएको छ। साथै, चीनबाट उत्पन्न हुन सक्ने सुरक्षा खतराहरू ट्र्याक गर्न र समाधान गर्न विभागभित्र एक कार्यसमूह गठन गर्ने निर्णय गरिएको छ।
प्रतिनिधि सभाले डिकप्लिङ फ्रम फरेन एड्भर्सेरियल ब्याट्री डिपेन्डेन्स एक्ट नामक विधेयक पारित गरेको हो। यो विधेयक दलीय समर्थनका साथ ध्वनी मतदान प्रक्रियाबाट पारित गरिएको थियो, जुन सामान्यतः विवादरहित विधेयक छिटो पारित गर्न प्रयोग गरिन्छ। रिपब्लिकन सांसद कार्लोस गिमेनेजद्वारा प्रस्तावित यो विधेयकले होमल्यान्ड सेक्युरिटी विभागलाई चीनसँग सम्बन्धित छ वटा कम्पनीबाट ब्याट्री खरिद गर्न रोक लगाउने लक्ष्य राखेको छ।
विधेयकमा उल्लेखित चिनियाँ ब्याट्री निर्माताहरूमा कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड, बीवाईडी कम्पनी लिमिटेड, इनभिजन इनर्जी कम्पनी लिमिटेड, ईभीई इनर्जी कम्पनी लिमिटेड, हाइचेन इनर्जी स्टोरेज टेक्नोलोजी कम्पनी लिमिटेड र गुओक्सुआन हाई—टेक पावर इनर्जी कम्पनी लिमिटेड रहेका छन्।
फ्लोरिडाका रिपब्लिकन सांसद गिमेनेजले चीनबाट अलग हुन आवश्यक रहेको बताउँदै कम्युनिस्ट चीनले प्रमुख विश्वव्यापी उद्योगहरूमा प्रभाव बढाउने प्रयास गरिरहेका बेला, अमेरिका चीनको नियन्त्रण हटाउने प्रक्रियाको अग्रपंक्तिमा रहनुपर्ने बताए। ‘हामी ब्याट्री प्रविधिमा दिन—प्रतिदिन निर्भर भइरहेका छौं, त्यसैले यी ब्याट्रीहरू शत्रुतापूर्ण मुलुकहरूबाट आउन नदिनु आवश्यक छ।’, उनले भने ।
क्यालिफोर्नियाका डेमोक्रेट सांसद क्रिस क्राइआले यो विधेयक हाम्रो विश्वव्यापी प्रतिस्पर्धीहरूलाई चुनौती दिन्छ र अमेरिकाको औद्योगिक उत्पादनलाई सशक्त बनाउने बताए । उनले चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकाको आन्तरिक सुरक्षामा हस्तक्षेप गर्ने कुनै अवसर दिनु नहुने राय व्यक्त गरे ।
भीओएका अनुसार, इलेक्ट्रिक वाहन (ईभी) विकासमा चीनको अग्रणी भूमिकामा अमेरिका र चीनबीचको भू—राजनीतिक तनावको नयाँ बिन्दु बनेको छ। हाल विश्व बजारका ८० प्रतिशत ब्याट्रीहरू चीनमा निर्मित छन् भने विश्वका ७५ प्रतिशत लिथियम—आयन ब्याट्रीहरू चीनमै उत्पादन हुन्छन्, जसका कारण विश्वका गाडी निर्माताहरू चिनियाँ आपूर्तिकर्ताहरूमा अत्यधिक निर्भर छन्। यद्यपि, उच्च लागतका बावजूद, अमेरिकी कांग्रेस इभी ब्याट्रीहरूका लागि चीनमा निर्भरता घटाउने दीर्घकालीन रणनीतिहरू अघि बढाइरहेको छ। विधेयकहरू सेनेटमा विचाराधीन छन्।