बडीमालिकाको दर्शन गरे मागेको पूरा हुने विश्वास

मार्तडी, जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पूजाका लागि आज सरकारी टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिकाको पूजाका लागि आज पूजा सामग्रीसहित सरकारी टोली त्यसतर्फ पठाइएको बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिए ।

साउन शुक्ल पूर्णिमाका अघिल्लो दिन हुने बडीमालिकाको पूजाका लागि सो टोलीलाई औपचारिक रुपमा बाजागाजासहित बिदाइ गरेको नगरपालिकाका उपप्रमुख कविता विष्टले बताए । सरकारी पूजाका लागि नगरपालिकाका नायब सुब्बा विवेश शाह नेतृत्वको टोली बडीमालिकामा गएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल विकले जानकारी दिएका छन् ।

बडीमालिकाको दर्शनपछि मागेको पूरा हुने र मनमा शान्ति मिल्ने जनविश्वास रही आएको छ । यस्तै पूर्वी उत्तरी भेगको बुढीनन्दाको पूजाका लागि पनि आज नै पूजा टोली त्यसतर्फ प्रस्थान गरेको बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

चार शक्ति पीठमा एकपटक पुजा
जिल्लाका चार शक्ति पीठमा एकै दिन पूजा लाग्ने गरेको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलका रुपमा रहेका बडीमालिका, बुढीनन्दा, बडालेख र सुनन्दामा एकैदिन अर्थात साउन पूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ ।

शक्तिका रुपमा रहेका धार्मिक पीठमा आआफ्नै तरिकाले पूजा आरधना गर्ने गरिन्छ । बडीमालिकाको पूजाका लागि गएको सरकारी टोली आज लादे पाटनमा बस्ने र भोलि मात्र त्रिवेणी क्षेत्रका लागि प्र्रस्थान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस