बर्खा सुरु हुन लागेसँगै यतिबेला शहरका धेरैजसो घरका कौसी हरिया देखिन थालेका छन् । परिवारका सबै सदस्यहरूको दिन बिताउने माध्यम भएको छ कौसी ।

काठमाडौं – बर्खा सुरु हुन लागेसँगै यतिबेला शहरका धेरैजसो घरका कौसी हरिया देखिन थालेका छन् । परिवारका सबै सदस्यहरूको दिन बिताउने माध्यम भएको छ कौसी ।

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले दिएको फुर्सदको समयमा आफूलाई व्यस्त बनाउन चाहनेहरू घरमा सिर्जनशील काममा लागेका छन् ।

कतिपय परिवारले खाली जग्गामा तरकारी रोप्न थालेका छन् । धेरै घरधनीहरूले घरको छतमा तरकारी फलाउन थालेका छन् ।

लकडाउनको फुर्सदमा घरको कौसीमा तरकारी फलाउँदा कोरोनाको जोखिम मोल्दै तरकारी किन्न बाहिर धेरै गइरहनु पर्दैन । आफैँले उत्पादन गरेको तरकारी स्वस्थकर र स्वादिलो पनि हुने भयो ।

शहरमै जन्मे–हुर्केका धेरै मानिस माटोसँग खेलेका हुँदैनन् तर इच्छाशक्ति भए तरकारी फलाउन बारीमा पुग्नै पर्दैन भन्ने सन्देश दिएका छन् कौसीखेती गर्नेहरूले ।

जाँगर भए शहरमा घरको छत नै पनि पर्याप्त हुन्छ भन्ने उदाहरण बनेका छन् छतमै तरकारी फलाउनेहरू । ‘कौसी खेती’ नाम पाएको तरकारी खेती लकडाउनमा रमाउने मेलो पनि भएको छ ।

लकडाउनमै मौका पारेर पहिलोपटक कौसी खेती थालेकी छन् ललितपुरकी रोजिता ताम्राकारले ।

पाटनकी बासिन्दा रोजिताले घरको कौसीमा गमलामा विभिन्न प्रजातिका फूल लगाएकी थिइन् । तरकारी भने उनको पहिलो प्रयास हो । करिब दुई आनाको कौसीमा उनले अनेक किसिमका तरकारी रोपेकी छन् ।

‘कौसीमा तरकारी लगाउने इच्छा पहिलेदेखि नै थियो, लकडाउनको एक हप्ताअघि सबै सामान ल्याएको थिएँ,’ उनले खबरहबसँग भनिन्, ‘लकडाउनमै कौसी खेती सुरु गरेँ ।’

दुई महिनामा उनको कौसी हरियो भएको छ । ‘काँक्रो, फर्सी, धनियाँ, लसुन, प्याज, गोलभेँडा, सिमी, बोडी, करेला, मूला, काउली, बन्दा लगायत थुप्रै तरकारी रापेको छु’ उनले खुसी हुँदै भनिन्, ‘साग खाने बेला हुन लागेको छ, तरकारी केही समय लाग्छ ।’

उनले खाली कौसीमा ‘ग्रो ब्यागम’ मा र बोरामा माटो भरेर तरकारी रापेको बताइन् । रोजिता घरमै कम्पोस्ट मल पनि बनाउँछिन् ।

कलंकीकी बासिन्दा गीता ढकाल पूर्वशिक्षिका हुन् । सेवा निवृत्त भएपछि उनले कौसी खेती सुरु गरिन् ।

उनको कौसीमा तितेकरेला, बोडी, फर्सी, राम तोरियाँ, सागलगायतका तरकारी फलेका छन् । कहिलेकाहीँ छमेकीलाई पनि दिन पाएर दङ्ग पर्छिन् । गीता भन्छिन्, ‘अहिले फुर्सदमा छु, कौसीमा तरकारी फलाइरहेकी छु ।’

कौसीमा उब्जाएको तरकारीले उनको भान्सा चलिरहेको छ । भान्साबाट निस्केको फोहोरबाट कम्पोस्ट मल बनाउँछिन् । गीता वर्षभरिमा ५० किलो हाराहारी कम्पोस्ट मल बनाउँछिन् । उनको खेतीलाई त्यसैले पुग्छ ।

प्रतिक्रिया दिनुहोस