नेपाल र भारतले दावी गर्दै आएको लिपुलेकमा हजार बढी चिनियाँ सेना प्रवेश ! भारतमा तरंग

काठमाडौं। चीनको जनमुक्ति सेनाले लिपुलेक पास नजिकै थप सैनिक तैनाथ गरेपछि यले भारतमा तरंग ल्याएको छ । यसअघि भारतले उपभोग गर्दै आएको यो क्षेत्रलाई हालै नेपालले आफ्नो नक्सामा समेटेको थियो ।

नेपाल र भारतबीच विवाद रहेको यो क्षेत्रमा चीनको हस्तक्षेप हुन सक्ने संकेत देखिएपछि अहिले नयाँ दिल्लीमा तरंग आएको छ । यो क्षेत्र नेपाल भारतबीच विवादित त छ नै, चीनको पनि सीमा नजिकै पर्छ ।

डेक्कन हेराल्डले यस क्षेत्रमा चीनले ठूलो संख्यामा सैनिक तैनाथ गरेको लेखेको छ तर नेपालको दार्जुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन् ।

‘त्यहाँ सैन्य मुभमेन्ट बढेको हामीलाई जानकारी छैन’ पोखरेलले डिसीनेपालसँग फोनमा भने ‘भारतीय मिडियाहरु त्यसै पनि हल्ला गर्छन् ।’ भारतीय मिडियाले भने जनमुक्ति सेनाको यो गतिविधिलाई चीनले भारतलाई स्पष्ट सन्देश पठाउन खोजेको रुपमा विश्लेषण गरेका छन् ।

नेपालले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र आफ्नो हुने भएकोले यो क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको हो । तर, भारतले भने नेपालले चीनको आडमा यी क्षेत्र समेटेर संशोधित नक्सा जारी गरेको दावी गर्दै आएको छ ।

भारतको यही बुझाइका कारण उसले अहिलेको चीनको गतिविधिलाई पनि नेपाललाई ‘ब्याकअप’ दिने र भारतलाई पछि हट्न दबाब दिने संकेतको रुपमा बुझेको छ ।

यो बुझाइपछि नयाँ दिल्लीमा अहिले लिपुलेकमा चीनको हस्तक्षेप हुने आशंकाले नयाँ तरंग आएको छ । नयाँ दिल्ली स्रोतलाई उद्धृत गर्दै डेक्कन हेराल्डले भारतले पनि त्यस क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस