‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं । कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं । हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन् । के साँच्चै नाटक गरेका हुन्? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ ?
हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्सी र अंग्रेजी भाषाबीचको यो सम्बन्ध हालै एक वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। उक्त अनुसन्धानले भन्छ, ‘मान्छेले कुनै नयाँ भाषा सिकिरहेको छ भने सामान्य अवस्थामा भन्दा रक्सीको हल्का नसामा बढी धाराप्रवाह बोल्नसक्छ ।’ भनेपछि, सामाजिक जमघट वा बीच बाटैमा रक्सीले मातेर अंग्रेजी बोल्नेहरू सामान्य नै रहेछन् । उनीहरूले त्यसो गर्नुमा वैज्ञानिक आधार रहेछ।
के हो त त्यो वैज्ञानिक आधार?
मान्छेले कुनै पनि नयाँ काम तबसम्म गर्न सक्दैन, जबसम्म ऊ संकोच मान्छ। अनुसन्धानकर्ताका अनुसार सीमित परिमाणमा खाएको रक्सीले मान्छेको संकोच कम गराउँछ। संकोच कम भएपछि नयाँ काम गर्दा मनमा उत्पन्न हुने हड्बडाहट र हिच्किचाहटलाई सजिलै जित्न सकिन्छ। यो त मानसिक अवस्थाको कुरा भयो। यति मात्र कारणले फर्रर अंग्रेजी बोल्न सकिने होइन। यसमा रक्सीले मान्छेको शारीरिक अवस्थामा ल्याउने परिवर्तन पनि जिम्मेवार छ।
रक्सीको नसाले सबभन्दा पहिला हाम्रो मस्तिष्कको सोच्ने वा विश्लेषण गर्ने प्रणाली कमजोर बनाइदिन्छ। यसले हाम्रो स्मरणशक्तिमा मात्र होइन, सतर्क वा चनाखो रहने क्षमतामा पनि नकारात्मक असर पुर्याउँछ। सोच्ने शक्ति र चनाखो रहने क्षमतामा एकैचोटि रक्सीले प्रहार गरेपछि मान्छेको आत्मविश्वास ह्वात्तै बढ्छ। ऊ आफूलाई क्षमताभन्दा बढी आँक्न थाल्छ। र, यही अवस्थाले अंग्रेजी बोलाइ धाराप्रवाह हुन्छ।
रक्सी र भाषासँग जोडिएको यो वैज्ञानिक निष्कर्ष बेलायती तथा डच अनुसन्धानकर्ताहरूको हो । यसै साता ‘जर्नल अफ साइकोफर्माकोलोजी’ मा प्रकाशित शोधपत्रमा उनीहरूले रक्सी खाएको मान्छे कसरी र किन दोस्रो भाषा (मातृभाषाबाहेक अन्य) बोल्न सक्षम हुन्छ भनी वैज्ञानिक जवाफ दिएका छन् ।
‘थोरै रक्सी खाएको मान्छे आफूले भर्खर सिक्दै गरेको दोस्रो भाषा बढी आत्मविश्वासका साथ धाराप्रवाह बोल्न सक्षम हुन्छ,’ ती अनुसन्धानकर्तालाई उद्धृत गर्दै टाइम पत्रिका लेख्छ, ‘उनीहरू आफैंलाई भने रक्सी खाएको बेला धाराप्रवाह बोल्दैछु भन्ने हेक्का नहुन सक्छ।’
टाइम पत्रिकाका अनुसार यो अध्ययनमा नेदरल्यान्डस्थित म्यासत्रिहित विश्वविद्यालयका ५० जना जर्मनभाषी विद्यार्थी सामेल थिए। उनीहरू सबै बेलाबेला रक्सी पिउँथे। उक्त विश्वविद्यालयमा डच भाषामा पढाइ हुन्थ्यो। ती विद्यार्थी यही भाषा सिक्दै थिए र भर्खर-भर्खरै भाषा परीक्षा पास गरेका थिए।
अध्ययन क्रममा प्रत्येकलाई एक डच अन्तर्वार्ताकारसँग दुई मिनेट कुराकानी गर्न लगाइएको थियो। कुराकानी सुरु हुनुअघि ती ५० जनामध्ये आधालाई पानी पिउन दिइयो भने बाँकी आधालाई मदिराजन्य पेय। मदिराको परिमाण व्यक्तिको तौलअनुसार फरक थियो। जस्तो, ६८ किलोको व्यक्तिलाई एक बोतलभन्दा बढी बियर खुवाइएको थियो।
डच अन्तर्वार्ताकारले सबै विद्यार्थीसँग पालैपालो कुराकानी गरे। कुराकानी डच भाषामै भयो। उनीहरूको सबै वार्ता रेकर्ड गरिएको थियो। विद्यार्थीहरूले बोलेको कत्तिको सही छ भनी जाँच्ने जिम्मा दुई स्थानीय डचभाषीलाई दिइयो। को पानी पिएर आएको छ र कसले रक्सी पिएको छ भन्ने ती दुई जनालाई थाहा थिएन। सहभागी विद्यार्थीलाई पनि आफूले कत्तिको धाराप्रवाह र शुद्ध बोल्न सकेँ भनेर स्वमूल्यांकन गर्न लगाइएको थियो।