एजेन्सी, भदाै । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३-० गाेल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेकाे हाे । पीएसजीलाई फाइनलमा पुर्याउनकाे लागि माकुनियोस, इन्जल डि मारिया र जुवान ब्रेन्ट भेलास्कोले एक/एक गोल गरे ।
खेलको १३ औँ मिनेटमा पीएसजीले अग्रता बनाएको थियो । लेइप्जिगका डिफेन्डरले डिबक्स बाहिर नेयमारलाई लडाएपछि प्राप्त फ्रि-किकको अवसरलाई डिमारिया र मार्कुनियोसले गोल गरे । डिमारियाले चलाखीपूर्णरुपमा प्रहार गरेको फ्रिकिकलाई मार्किनियोसले हेडर गोल गर्दै खेलमा अग्रता बनाए ।
यस्तै ४२ औँ मिनेटमा गोलकिपर पिटर गुलस्किले मिस पास दिएपछि नेयमारको फ्लिक टचमा डि मारियाले गोल गर्दा पीएसजीले अग्रता दोब्बर बनायो । ५६ औँ मिनेमटमा डिमारियाले सहज पास निकालेपछि भेलास्कोले हेडमार्फत गोल गर्दै पीएसजीको ३–० को जित सुनिश्चित गरे ।