घरमा २ श्रीमति हुँदाहुँदै तेस्राे विवाह, मण्डपबाटै लखेटिए बेहुला

एजेन्सी / क्रुद्ध भीडबाट एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन् । उक्त घटना पाकिस्तानमा भएको हो । पहिलो श्रीमतिले विवाह मण्डपमा नै आएर नयाँ दुलहीलाई आफू दुलहाको पहिलो श्रीमति भएको बताएपछि विवाह समारोहमा उपस्थित मानिसले ती बेहुलालाई लखेटेको बिबिसीले जनाएको छ ।

आसिफ रफिक सिद्दिकीले धुमधामसँग विवाह गरिरहेको बेलामा उनकी पहिली श्रीमति मण्डपमै आएर सिद्दिकीले पहिला नै २ जनासँग विवाह गरिसकेको बताएपछि नयाँ दुलहीका आफन्त आक्रोशित बनेको थियो । आक्रोशित भीडमा रहेका केहीले सिद्दिकीलाई तानेर थप्पड हानेको थिए । २ वटी श्रीमति हुँदाहुँदै तेस्रो पटक विवाह गरेको थाहा पाएपछि समारोहमा उपस्थित मानिस क्रुद्ध बनेका थिए । उनीहरूले सिद्दिकीले लगाएको सर्ट र प्यान्ट पनि च्यातिदिएका थिए ।

त्यसपछि उनी भीडबाट फुत्किन सफल भएका थिए । तर उनलाई भीडले लखेटिरहेपछि एउटा मुनि गएर आफूलाई बचाएका थिए । पछि उनलाई अन्य मानिसले बचाएको समाचारमा उल्लेख छ । पाकिस्तानमा बहुविवाहलाई कानुनी मान्यता दिइएको छ । त्यहाँ एकजना पुरुषले ४ पटकसम्म विवाह गर्न पाउने व्यवस्था छ । तर यसरी विवाह गर्नुपूर्व पहिला विहे गरेका श्रीमतिको अनुमति लिनुपर्छ । तर सिद्दिकीले गोप्य रुपमा तेस्रो पटक विवाह गर्न खोज्दा आफैं शिकार बनेका हुन् । कराचीमा आयोजित विवाह मण्डपमा रिसले चूर हुँदै पहिलो श्रीमति देखिएपछि मात्रै नयाँ दुलही र उनको परिवारले सिद्दिकीले यसअघि २ पटक विवाह गरेको थाहा पाएका थिए ।

आक्रोशित मुद्दामा विवाह समारोहमा एक्कासी पहिलो श्रीमति देखिएपछि दुलहीका आफन्तहरू एकछिन आश्चर्यमा परेका थिए । सोही क्रममा एक आफन्तले ‘बहिनी के भयो ?’ भन्दै ती महिलालाई सोधे पनि । लगत्तै ती महिलाले आफू सिद्दिकीको पहिलो श्रीमति भएको र उनकी दोस्रो श्रीमति पनि रहेको बताइन् । विवाह मण्डपमा उनी आफ्ना सन्तानसँगै पुगेकी थिइन् । ‘उनी मेरा श्रीमान हुन् र यो सन्तानको बाबु पनि । ३ दिनका लागि हैदरावाद जान्छु भनेका थिए’, ती महिलाले सबैसामु भनिन् ।

त्यसपछि दुलहीका परिवारले ती महिलालाई अर्को कोठामा लैजाने प्रयास गरेका थिए । सोही क्रममा केही उपस्थित मानिसलाई आफ्ना नातेदार भनेर देखाएकी थिइन् । ‘ती मेरी सासु हुन्, ती मेरी जेठानी हुन् र उनले आफ्नी आमा ३ दिनदेखि बिरामी भएको बताएकी थिइन्’, महिलाले भनिन् । त्यसपछि उनले नयाँ दुलहीसँग कुरा गरिन् । ‘यी मेरा श्रीमान हुन भन्ने तिमीलाई थाहा थिएन ? उनले यो निर्दोष छोराको बारेमा पनि सोचेनन्’, नयाँ दुलहीसँग आक्रोशित हुँदै उनले भनिन् ।

कुरा यत्तिमा मात्रै सिमित रहेन् । ती महिलाले कराचीस्थित उर्दू विश्वविद्यालयमा भेट भएपछि सिद्दिकी र आफ्नो विवाह २०१६ मा भएको पनि बताइन् । साथै सिद्दिकीले २ वर्ष पहिला जेहरा अफरफ नामकी महिलासँग गोप्य रुपमा दोस्रो विवाह गरेको पनि बताइन् । जेहराले सिद्दिकीलाई पठाएको सन्देशबाट दोस्रो पटक विहे गरेको थाहा पाएको पनि बताइन् । सुरुमा जेहरालाई विवाह गरेको कुरा सिद्दिकीले अस्वीकार गरेको तर पछि स्वीकारेको पनि उनले सुनाइन् ।

समाचार अनुसार जेहराले नै सिद्दिकीले तेस्रो पटक विवाह गर्न लागेको कुरा ती महिलालाई बताएकी थिइन् । यो सबै कुरा सुनेपछि नयाँ दुलहीका आफन्त सिद्दिकीमाथि जाइ लागेका थिए । आक्रोशित बनेका दुलहीका आफन्तले उनलाई कुटेको, कपडा च्यातचुत पारिदिएको प्रहरीले जनाएको छ । आफूमाथि कुटपिट हुन थालेपछि सिद्दिकी बसमुनि गएर बसेका थिए । तर बाहिर निस्कने बित्तिकै उनीमाथि दुलहीका आफन्त पुनः खनिएका थिए । त्यसपछि उनी फेरि बस मुनि नै गएका थिए ।

प्रतिक्रिया दिनुहोस