रक्त क्यान्सरसँग लडिरहेका दीपेन्द्रकाे उपचारमा आर्थिक अभाव, सहयाेग गर्न अपिल

काठमाडाैँ, २१ भदाै । रक्त क्यान्सरसँग लडिरहेका पीडित दीपेन्द्र पाल बाँच्न चाहन्छन् । तर गरिब परिवार भएका कारण उनको उपचारका लागि सहयोगको लागि अपिल गरिएकाे छ ।

दार्चुलाको लेकम गाउँपालिका– ४ घर भएका २४ वर्षीय युवा पाललाई कलिलै उमेरमा रक्तक्यान्सरले सताएपछि अहिले उनी काठमाडौँको सिभिल अस्पतालमा भर्ना भएका छन् । यसअघि धनगढीको माया मेट्रो अस्पतालमा क्यान्सर भएको पत्ता लागेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

अस्पतालको बेडमा थलिएका पाल मृत्युलाई जित्न चाहन्छन् । तर उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगी मनहरुसामु याचना गरेका छन् । सामान्य किसान घरपरिवारमा जन्मेका पाललाई उपचारका लागि पैसा जुटाउन निकै समस्या परेको छ । पढाइ सकेर बैंकमा जागिर खाने, आमाबासँग बस्ने रहर थियो उनको तर नियतिले अस्पतालको बेडमा र्पुयाइदियो ।

‘भगवानले पनि कठोर परीक्षा लिए, कहिल्यै नचिताएको रोग लाग्यो,’ अस्पतालको बेडबाटै उनले निराशा पोखे, ‘न आफूसँग उपचारका लागि पैसा छ, न त कसैको आश ।’ ब्लड क्यान्सरको उपचारका लागि ९ लाख र बोनम्यारो प्रत्यारोपणका लागि १२ देखि १६ लाखसम्म बजेट आवश्यक पर्ने पालका दाइले बताएका छन् । तर उनीहरुसँग त्यसका लागि आवश्यक पर्ने कुल खर्च २४–२५ लाख त परको कुरा, एक–दुई लाखसम्म पनि छैन ।

‘उपचारमा लाग्ने खर्च २४–२५ लाख कहाँबाट ल्याउनु अब ? भाइका लागि के के सपना देखेको थिएँ, तर आज के भयो,’ दीपेन्द्रका दाजु मीन पालले सुनाए । भाइलाई बचाउनका लागि दाइ मीनले सहयोगी मनहरुसँग याचना गरेका छन् । उनी अस्पतालमा भर्ना भएको पनि १ महिना भएको बताइएको छ । घरमा बूढा आमाबा छन् । आमा पनि बिरामी रहेको र एकजना अशक्त दिदी रहेको उनले बताए ।

सहयोग गर्न चाहनेहरुले लक्ष्मी बैंक लिमिटेडको लेकम दार्चुला शाखामा जानकी पालको नाममा रहेको खाता नम्बर ०९०२३००५०१४ मा रकम जम्मा गर्न सक्नेछन् । थप जानकारीका लागि मोबाइल नम्बर ९८६८७२२२०६, ९८६२४२५१३२ उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस