मागे जति दाइजो नदिएको भन्दै २२ वर्षीय रिङ्कीलाई भगाएर विबाह गरेको २४ घण्टामा नै गरियो हत्या

विराटनगर, २२ भाद्र । मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै हत्या गरेको आरोप लागेको हो।

भदौ ३ गते सोही गाउँपालिका–४ निवासी रमेशकुमार मेहताले छोरीलाई अपहरण शैलीमा जबरजस्ती भगाएर घर लगेको २४ घण्टा नबित्दै दाइजोको लागि हत्या गरेको मृतकका बुवा जयकिशोर महतोको आरोप छ।

विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्।

गालामा डण्डीफोर र दाँतको समस्या रहेकाले दाजुले विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात दुई दिन दाजुको घरमा बसेर उनले भदौ ३ गते बहिनीलाई फोन गरेर घर आउन लागेको जानकारी गराएकी थिइन्।

फोन गरेको केही समयपछि मोबाइल अफ हुँदा परिवार तनावमा थियो। पूर्वसभासद मुगालाल मेहताले राति ११ बजे फोन गरेर छोरी केटासँग भागेर आएको भन्दै तत्काल आफ्नो घरमा आउन भनेका थिए।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मृत्तकका बुवा जय किशोरले भने, ‘राति पूर्वसभासदको घर १२ बजे पुगेँ। त्यहाँ पुग्न साथ छोरी भागेर केटासँग आएकी छ, विवाह गरिदिनु पर्य भन्दै दबाब दिए।’

उनले छोरीसँग एक पटक भेट्न खोज्दा पनि नदिएको गुनासो गरे। उनलाई छोरी भगाएर लाने केटालाई १० लाख दाइजो दिएर बिहे गर्ने दबाब पूर्वसांसद मेहताले नै दिएका थिए। यो दबाबपछि बिना छलफल फर्किएको उनको भनाइ छ ।अन्नपुर्ण पोस्टमा खबर छ ।

‘सभासदले फोन गरेर बोलाए तर छोरीसंग भेट्न दिएनन्’, उनले भने। उल्टै दाइजो दिन दबाब दिएपछि आफू फर्केर आएको केही बेरमा छोरीलाई जिम्मा लगाएर रमेशको घर पठाएको थाहा पाएको उनले सुनाए।

रमेशको घर भदौ ३ गते मध्यरातमा पठाएकी छोरीले पासो लगाएर आत्महत्या गरेको भन्दै सभासद मेतहताले ५ गते बिहान राति ३ बजे फोन गरेर जानकारी दिएको उनले सुनाए । मेरा आफन्तलाई फोन गरेर पूर्वसभासद मेहताले सुनाएपछि आफूहरु गएको मृतकका दाजु जयप्रकाश मेहताले बताए।

सुतेको कोठाको बरण्डामा प्लास्टिकको कुर्सीमाथि पासो लगाएको अवस्था हेर्दा हत्या गरेर पासो लगाई झुन्ड्यिाएको आशंका उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस