दुवै हात नभएकी संसारकै एकमात्र पाइलट जेसिकाको सफलताको कथा

एजेन्सी । संसारमा अपांगता भएका व्यक्तिले नगरेको कुनै पनि काम छैन । सामान्य व्यक्ति सरह उनीहरुले पनि विभिन्न क्षेत्रमा आफुलाई अब्बल बनाएका छन् । दुवै हात नभएकी संसारकै एकमात्र महिला पाइलट हुन् जेसिका कक्स ।

अदम्य साहासकी खानी उनले गोडाको भरमा जहाज उडाएर गिनिज बुक आफ दि वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छन् । जेसिका पाइलट मात्र होइनन्, उनी अमेरिकन तेक्वान्दो एशोसियशनकी ब्ल्याक बेल्टको उपाधि पनि प्राप्त गरेकी छन् ।

अमेरिकाको एरिजोनामा सन् १९८३मा जन्मिएकी जेसिकाका जन्मजात दुवैहात थिएनन् । उनकी आमाले उनलाई देखेर खुसी भन्दा पनि दुखी हुनु परेको थियो ।आफ्नी छोरीलाई सबैले हेप्ने र घृणा गर्ने भविष्यको चिन्ताले उनकी आमा डिप्रेसनको शिकार भएकी थिइन् । १३ वर्षको उमेरसम्म जेसिकाले नक्कली हातको प्रयोग गरिन् ।आफु १४ वर्षको उमेरमा पुगेपछि जेसिकाले नक्कली हातहरु फालिदिइन् र समाजमा खुलेर हिड्न थालिन । उनले आफुलाई जस्तो छु त्यसैमा आनन्द आउने बताइन् ।

आफुमाथि दयाभाव देखाउने र हेपाहा व्यवहारको खुलेरै बिरोध गरिन् । त्यसो समयसम्म उनले टाइपिङ गर्ने र तेक्वान्दो खेल्न थालिसकेकी थिइन् । लगत्तै उनले खुट्टाको सहायतामा गाडी चलाउन सफल भइन् ।जब आफुमा आत्मविश्वास जाग्यो, जब उनले पाइलट बन्ने संकल्प गरिन् । लक्ष्यमा पुग्न मन मनै आफुलाई त्यसैअनुसार तयार गर्दै गइन् । उनले सानैदेखि आफ्नो चाहनालाई पुरागर्नेगरी अठोट लिएर अगाडि बढिन् ।

जेसिकाले पढाइलाई चाहनासँगै राखेर अगाडि बढाउँदा सन् २००५ मा पहिलो पटक दुवैहात नभएकी महिलाले विश्वकीर्तिमान राखेर जहाज उडाइन् ।अमेरिकाबाट उनले सन् २००८ मा पाइलटको लाइसेन्स प्राप्त गरिन् । अमेरिकाको एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक उनले सूचनाको क्षेत्रमा पनि राम्रो अध्ययन गरेकी छन् । अहिले झण्डै ३८ वर्षीया जेसिकाले तेक्वान्दोमा पनि विभिन्न उपाधि प्राप्त गरेकी छन् ।

जेसिका कक्स अहिले संसारभरका अपांगता भएका व्यक्तिका लागि प्ररणाको स्रोत बनेकी छन् । सामान्य नागरिकले दुवै हातले पनि गर्न नसक्ने खालका उपलब्धि उनले संघर्षपूर्ण यात्राबाट पुरा गरिन् । उनी सन्तुष्ट छन् ।पाइलटसँगै अहिले जेसिकाले विभिन्न देशमा पुगेर आम नागरिकलाई सफलताका लागि प्रवचन दिने गरेकी छन् । ह्याण्डिक्याप इन्टरनेशनको सद्भावनादूत जेसिकम केही वर्ष पहिले नेपालमा पनि आएकी थिइन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस