हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

एजेन्सी, १ असाेज । मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला परेको बताएका छन् ।

मलेशियाकाे दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा जाक्रिद्ज रोद्जी नामक २० वर्षीय एक विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडियाेसहित सामग्रीहरू ट्विटरमा हालेका छन् । अहिले उक्त फाेटाे र भिडियाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

भिडियाेमा त्यही दिन दिउँसो २:०१ बजे एउटा बाँदरले फोन खान खोजे जस्तो देखिन्छ । त्यसमा उक्त बाँदरले फोनको क्यामरामा ट्वाल्ल परेर हेरेको र हरिया पातको पृष्ठभूमिमा काग कराएको सुनिन्छ।

रोद्जीले आइतवार दिउँसोसम्म फोन नभेटिएको तर आफ्ना पिताले घरबाहिर एउटा बाँदर देखेपछि आफ्नो नम्बरमा फोन गर्दा घरपछाडि जङ्गलमा घण्टी बजेको सुनिएको बताए । खोज्दै जाँदै हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटिएको थियो।

एक आफन्तले फोनमा चोरको तस्बिर होला भनेर ठट्टा गरेको सम्झिँदै फोन खोलेर हेर्दा बाँदरका तस्बिरहरू भेटिएको उनी सुनाउँछन् । बाँदरले सेल्फी खिचेको विषय समाचारमा आएको यो पहिलो पटक भने हैन। सन् २०१७ मा एक ब्रिटिश फोटोग्राफरले बाँदरले खिचेको विषयमा मुद्दा खेप्नुपरेको थियो। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस