कुन बेला घर पहिरोले निल्छ थाहा थिएन । त्यही डरले रात परेपछि ओत लाग्न कहिले छिमेक, कहिले आडैको विद्यालयमा बस्थे । बुधबारको रात जोखिम मोलेरै बस्ने निधो गरे । राति सबै मिलेर खाना खाए । गफैगफमा रात ढल्कँदै गयो । आकाश उज्यालिने बेला सुत्ने निधो गरे । वालिङ १४ तमादीकी ४८ वर्षकी माया परियारसहित १० जना एउटै घरमा सुतेका थिए ।
मायाकी बहिनी उमाकला पाहुना आएको ३ दिन भएको थियो । काइँला छोरा कुलदीप कामको सिलसिलामा परिवारसहित बुटवल जाने तयारीमा थिए । कुलदीप र विनीताको विवाह भएको ३ वर्षमात्रै पुगेको थियो । ६ महिनाका छोरा थिए ।
कान्छी आमा सानी पनि सँगै बस्थिन् । बुवा धनबहादुरको ९ वर्ष पहिल्यै मृत्यु भइसकेको थियो । धनबहादुरले मायाको पेटमा भएको बच्चा काखमा लिन पाएनन् । उनले धर्ती छोडेर किरिया गर्दा जन्मेका विवश पनि ९ वर्षका भइसके ।
हाँसीखुसी सुतेका १० जनामध्ये ९ जना एकाबिहानै आएको पहिरोमा पुरिए । मायाकी कान्छी छोरी मनीषा भाग्यले बाँचिन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । बिहान साढे ५ बजे निद्राले छोडेपछि उनी ढोकासम्म आइपुगेकी थिइन् । एक्कासि केही खसेजस्तो आवाज सुनिन् ।
‘पानी भर्न उठेकी थिएँ । ढोकामा आउनेबित्तिकै पहिरो गयो । मम्मी र छ्यामा पनि उठ्नुभएको थियो,’ मनीषाले बिहीबारको बिहान सम्झिइन् । २ आमा, सानिमा, २ दाइ, २ भाइ, भाउजु र ६ महिने भदाको अवस्थाबारे उनी बेखबर छिन् ।
दाहिने खुट्टामा चोट बोकेकी मनीषालाई कसैले केही भनेका छैनन् । बिहान पहिरोबाट निकाल्दा उनलाई घरको जस्ताले थिचेको थियो । ‘एक्कासि पहिरो खस्यो । खुट्टा ढुंगाले थिचेको थियो । ममाथि टिन थियो । तर त्यसले केही भएन,’ मनीषाले सुनाइन् ।
खुट्टामा चोट लागेकी मनीषालाई परिवारको सदस्य कहाँ छन् भन्ने चिन्ताले सताइरहेछ । कुरुवा बसेकी मामाकी छोरी कमलालाई मनीषा सोधिरहन्छिन्– घर अरुलाई के भयो होला ? घर केही नभएको भनेर कमला मनीषाको मन बुझाउँछिन् ।
पहिरोले वितन्डा मच्चाएको खबर सुन्दा कमला झसंग भइन् । वालिङ बस्ने उनलाई भाउजु नाता पर्नेले फोन गरेर घटना सुनाएकी थिइन् । फेरि आफ्नै दाइले फोन गरे ।
वालिङमा उपचार गराइरहेकी मनीषाको कुरुवा बस्न जानुपर्ने भएपछि उनी पोखरा आइन् । डाक्टरले भनेको औषधी लिएर ओहोरदोहोर गरिरहेकी उनी बिहानैदेखि भोकै थिइन् ।
अस्पतालमा कति दिन काट्नुपर्ने हो भन्ने अझै थाहा छैन । उनलाई लागिरहन्छ– मनीषालाई मृत्युको खबर कसरी सुनाउने ! घाइते मनीषाका माइलो दाइ भोजराज बम्बई छन् । ‘दाइ दसैंमा आउँछु भन्नुभएको थियो,’ मनीषाले सुनाइन् । भर्खर एसइई दिएकी उनी गाउँकै स्कुलमा कमर्स पढ्ने सोचमा छिन् ।