एसिडको जलनमा कानुनी मलमः पीडितको निःशूल्क उपचार, बिक्री गर्न लाइसेन्स चाहिने

एसिड प्रहारबाट नेपालमा थुप्रै छोरीचेली पीडित छन्। कयौं अंगभंग छन्। कतिपयले कुरुप अनुहार लिएर बाच्नु परेको छ। एसिडपीडित जीवनभर पीडित भएर बसिरहदा प्रहार गर्ने व्यक्ति भने कानुनी दायरामा आए पनि सजाय कति पाए? केही महिना जेल बसेर धरौटीमा रिहा भइ खुलेआम हिडिरहेका छन्। यो आजको यथार्थ हो।

तर अब भने योे अवस्थाको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ। सरकारले अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

यस्तो छ कानूनी व्यवस्था

एसिड आक्रमण पीडितको दुवै आँखा जली वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पुर्णरुपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलगाग्ने भएमा, अनुहार पुर्णरुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तो गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने छ।

यसैगरी कसैको एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा दोषीलाई १० वर्षदेखि २० वर्षसम्म कैद र सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने छ।

शरिरको अन्य अङ्गभङ्ग वा शारिरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम पाँचदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने छ।

यसैगरि तेजाब आक्रमणका पीडितको तत्काल मृत्यु नभएपनि त्यही कारणले पछि मृत्यु भएमा त्यसलाई कर्तव्य ज्यानको कसुर गरेको मानिने र जन्मकैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ। यसैगरी तेजाब हान्दा लक्षित व्यक्तिलाई नलागेपनि वा लक्षित व्यक्ति जोगिएमा पनि आक्रमणकारी वा त्यसो गर्न लगाउनेलाई १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

निःशूल्क उपचार
अब एसिडपीडितहरुले निःशूल्क उपचार पनि पाउनेछन्। १७ अस्पतालमा एसिड आक्रमणका घाइतेको निशुल्क उपचार सरकारले गर्ने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३० गते विभिन्न १७ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क गर्न आग्रह गर्दै पत्राचार गरिसकेको छ।

एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क हुने स्वास्थ्य संस्थाहरुमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल लगनखेल रहेका छन्।

यस्तै, कोशी अस्पताल, नारायणी अस्पताल,भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, गजेन्द्र नरायण सिंह सगरमाथा अस्पताल सप्तरी, कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि एसिड आक्रमणका घटना पीडितको उपचार निशुल्क हुनेछ।

एसिड विक्री गर्न लाइसेन्स चाहिने
फौजदारी-कसुर-2
कानुनअनुसार खुल्ला तेजाव विक्री वितरण पूर्णरुपमा प्रतिवन्ध लगाइएको छ। कुनै पनि पेय पदार्थसँग मिल्दो बोतलमा एसिडलाई राख्नसमेत पाइने छैन। एसिड राखिएको बोतलको रङ चहकिलो हुनुपर्ने छ भने सबै बोतलमा लेवलिङ हुनुपर्ने व्यवस्था गरिएको छ।

एसिडको विक्री वितरण गर्ने पसलले जिल्ला प्रशासनबाट अनुमति लिनु पर्ने छ। उक्त अनुमतिपत्र लाई वार्षिकरुपमा नविकरणसमेत गराउनु पर्ने छ।

विक्रेताले एसिडबारे नियमित लकबुक मेन्टेन गर्नुपर्ने छ। खरिदकर्ताको परिचयपत्र र फोन नम्बर राख्नु पर्नेछ भने खरिदको उदेश्यबारे समेत जानकारी दिनुपर्ने छ। उक्त लकबुक एक वर्षसम्म कायम राख्नुपर्ने छ।

समस्या भनेको कानुन नहुनु होइन, भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुनु हो । व्यवहारमा एसिडजन्य अपराधका साथै अन्य अपराध नियन्त्रण, पीडित तथा पीडित परिवारको उद्धार, राहत, क्षतिपूर्ति, पुनस्र्थापना र समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत हुन सकेको छैन । कानुन भए र पनि पीडितले सजाय त के पहिचान पनि हुन नसकेको बहुचचित निर्मला पन्त बलात्कार पछि हत्या प्रकरणलाई लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस