डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै, आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउनसक्ने

काठमाडौं, १८ असोज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनसन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुदै गएको छ । सहयोगी डा.तोसिमा कार्कीका अनुसार डा.केसीलाई छातीमा अत्यधिक पीडा महसुस थालेको हो ।

साथै, डा.केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको कारण उनलाई अक्सिजन दिन थालिएको पनि सहयोगी डा.कार्कीको भनाइ छ । उनका अनुसार शरीरमा चाहिने इलेक्ट्रोलाइटको कमी हुँदा फोक्सोले शरीरलाई चाहिने मात्रामा अक्सिजन लिन नसकेकाले अहिले ६ लिटर अक्सिजन सपोर्ट दिइएको छ ।

डा.केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि नलिने बताएका बताइएको छ । त्यस्तै, उनलाई कुनै पनि समयमा आईसीयूमा सारेर उपचार सुरु गर्नुपर्ने अवस्था आउनसक्ने जानकारी दिइएको छ ।

डा.केसीको रक्तचाप पनि घट्दै गएको जानकारी गराइएको छ । कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएको कारण आजबाट डा.केसीलाई भर्ना गरिएको कोठामा बाहिरका मानिसलाई प्रवेश निषेध गरिएको बताइएको छ ।

केही दिन अगाडि मात्रै डा.केसीले भिडियो सन्देशमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सामान्य माग पूरा गरिदिन आग्रह पनि गरेका थिए । तर, सरकारले भने डा.केसीको अधिकांश मागहरु पूरा भइसकेको र केही पूरा हुन बाँकी मागहरु पूरा हुने क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस