कुरा गरिरहेकै समयमा मोबाइल फोन विस्फोट हुँदा युवकको मृत्यु

मोबाइल फोनमा कुरा गरिरहेको समयमा अचानक मोबाइल विस्फोट हुँदा एक युवकको मृत्यु भएको छ । आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा सोमबार उक्त घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मोबाइल चार्ज गरिरहेकै समयमा चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय ती व्यक्तिले कसैसँग फोनमा कुरा गरिरहेका थिए । अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल विस्फोट हुँदा उनी नराम्ररी घाइते भएका थिए ।

प्रहरीका अनुसार उक्त दुर्घटना हुँदा रेड्डी आफ्नो घरमा एक्लै थिए । छिमेकीले तार जलेको गन्ध पाएपछि उनको कोठामा पुग्दा अचेत अवस्थामा उनी ढलेको पाइएको प्रहरी समक्ष जनाएका छन् ।

छिमेकीले नै उनलाई अस्पताल लगेका थिए । लगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार मोबाइल फोन पूर्ण रुपमा जलेका कारण कुन कम्पनीको मोबाइल हो भन्नेसमेत प्रष्ट हुन सकेको छैन ।

मृतक रेड्डी शारीरिक रुपमा अशक्त थिए । प्रहरीका अनुसार उनी राज्य सरकारका तर्फबाट शारीरिक रुपमा अशक्त व्यक्तिका लागि उपलब्ध गराउँदै आएको मासिक भत्ताबाट गुजारा चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस