दैवीशक्तिको चमत्कार अकलादेवी मन्दिर, जहाँ पुजा गर्न जानुहोस कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ !

कृष्ण न्यौपाने, दमौली, – तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् । अकलादेवी मन्दिर व्यवस्थापन समितिले मन्दिरको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढेको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बराई मगरले बताउनुभयो । मन्दिरको सर्वाङ्गीण विकासका लागि डिपिआरसमेत तयार भएको छ । मगरका अनुसार डिपिआर बमोजिम मन्दिर क्षेत्रमा पूर्वाधार निर्माणका लागि रु चार करोड बजेट आवश्यक पर्ने देखिएको छ ।

“प्रशस्त सम्भावना भएर पनि प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा पर्दै आएको महशुस ग¥र्यौ,” अध्यक्ष मगर भन्नुभयो – “सरोकारवाला निकायको सहयोगमा यस ठाउँको विकास र प्रचारप्रसारका लागि जुटेका छौं ।” मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् ।

अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउनुहुन्छ । “यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उहाँले भन्नुभयो – “यो दैवीशक्तिको चमत्कार हो ।” विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष मगर बताउनुहुन्छ ।

“घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चबलि लिएर आएको समयमा घण्ट हल्लन्छ,” उहाँले भन्नुभयो – “किनकि त्यो बेला देवी खुशी हुनुहुन्छ ।” आफूले समेत दुई पटकसम्म पञ्चबलि दिएको र त्यो बेला प्रत्यक्ष रुपमा घण्ट हल्लिएको देखेको मगरले बताउनुभयो ।मन्दिरमा नौ वर्षदेखि पूजारीको रुपमा कार्यरत टोपबहादुर सारुले देवीको शक्तिका कारण मन्दिरमा रहेका घण्ट आफैं हल्लिने गरेको बताउनुभयो । उहाँका अनुसार मन्दिरमा दैनिक ५०÷६० जना भक्तजन पूजाआजाका लागि आउने गरेका छन् ।

केही दिनअघि मात्रै मन्दिरको अवलोकन लागि पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विशिष्ट प्रकृतिको यस मन्दिरको प्रचारप्रसार र विकासका लागि स्थानीयवासी सक्रिय भएर लाग्नुपर्ने सुझाव दिनुभएको थियो । विसं २०५५ सालमा मन्दिरमा योगी नरहरिनाथले ८५ औें कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएको कारण नरहरिनाथले यहाँ कोटीहोम लगाएको स्थानीयवासी बताउँछन् ।जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण शुरु भएको छ । समितिको आन्तरिक कोषको रकमबाट जेठ १८ गतेदेखि मन्दिरको पुनःनिर्माणको काम शुरु गरिएको छ । रु ६३ लाख ५० हजारको लागतमा शुरु भएको पुनःनिर्माणको काम आगामी कात्तिकसम्ममा सम्पन्न हुने निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस