बोर्डिङ स्कूलका शिक्षकको दशैंः भत्ताको कुरै छैन, ६ महिनाको तलब १२ हजार

ललितपुरको सात दोबाटोमा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलका शिक्षकहरुले बैशाखदेखि असोजसम्मको तलब कसैले १२ हजार, कसैले १६ र कसैले १८ हजार रुपैयाँ पाएका छन् ।

उनीहरुले ६ महिनाको एकैपटक यति तलब पाएका हुन् । बैशाखदेखि विद्यार्थीलाई होमवर्कहरु दिन सुरु गरेको र राम्रोसँग असारदेखि अनलाइन कक्षा पढाउन सुरु गरेका उनीहरुले दशैंको मुखमा आएर एकैपटक ६ महिनाको तलब स्वरुप १२ हजार रुपैयाँ पाएका हुन् ।

विद्यालयले बैशाखदेखि पढाएबापत तलब दिएको त्यहाँ पढाउने एक शिक्षिकाले बताइन् । एउटा पढाएबापत प्रतिक्लास १ सय ५० रुपैयाँ जति रकम दिएको उनले बताइन् ।

नेसनल प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाका अनुसार काठमाडौं महानगरले विद्यालयले विद्यार्थीसँग कति शुल्क लिन पाउने भनेर नतोकेको कारण शिक्षकलाई कति तलब दिने भन्ने कुरा अझै अलमल्ल भएको बताए ।

काठमाडौं महानगरले अनलाइन कक्षा लिएबापत अभिभावकले तिर्नुपर्ने शुल्क नतोकेका कारण शिक्षकलाई कति तलब दिने भन्ने अप्ठेरो परेको उनको भनाइ छ ।

यद्यपि, सम्पर्कमा रही नियमित अनलाइन कक्षामा सहभागी भएका शिक्षकहरुलाई आधा तलबको व्यवस्था गरेको उनले बताए ।

‘अहिले धेरै शिक्षकहरु सम्पर्कविहिन भएर आफ्नो गृह जिल्लामा हुनुहुन्छ, उहाँहरुलाई हामीले केही दिन सक्ने अवस्था छैन तर, जो शिक्षकहरु यहाँ कक्षा लिइरहनुभएको छ, उहाँहरुलाई हामीले २० हजार तलब भएकाहरुलाई १२ हजार रुपैयाँका दरले दिने जस्ता व्यवस्था गरेका छौं, सक्ने सबै विद्यालयहरुले यसै गरिरहनुभएको छ,’ उनले भने ।

अहिले प्रदान गरिएको यो रकम पनि अवस्था सामान्य भएपछि मिलाउने गरी प्रदान गरिएको उनको भनाइ छ ।

तर एकतर्फ प्राइभेट विद्यालयहरुका शिक्षकले तलब नपाइरहेको बेला सरकारी शिक्षकहरुले भने पुरा तलब र दशैं भत्ता पाएका छन् । तहाचल क्याम्पसका एक उपप्राध्यपकका अनुसार सरकारले असोजसम्मको पुरा तलब र भत्ता दिइसकेको छ ।

सौगात मोन्टेश्वरीका प्रधानाध्यापक राज्यलक्ष्मी बैदरले शिक्षकहरुलाई तलबको ६० प्रतिशत तलब दिइरहेको बताइन् ।

‘हामीले अभिभावहरुसँग पनि हाम्रो ट्युसन शुल्कको ६० प्रतिशत मात्र लिइरहेका छौं, त्यसैगरी शिक्षकहरुलाई पनि ६० प्रतिशत तलब दिइरहेका छौं,’ उनले भनिन् ।

बैदारले यस वर्ष दशैं बोनस भने दिननसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस