२०५० सम्ममा मंगल ग्रहमा १० लाख मानिस पु-याउने स्पेसएक्सको योजना, दैनिक ३ उडान हुने

काठमाडौं, १० कात्तिक । मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी ‘स्पेसएक्स’ले उक्त ग्रहमा जानको लागि हरेक दिन तीन उडान सञ्चालन हुने जनाएको छ । टाइम म्यागजिनसँगको कुराकानीका क्रममा स्पेसएक्सकी सीओओ गिन्नी शटवेलले यस्तो बताएकी हुन् ।

करिब दुई दशकदेखि अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ । स्पेसएक्सकी सीओओ गिन्नी शटवेलका अनुसार हरेक उडानमा एक सय जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

एक वर्षमा एक हजार उडान हुनेछन् । २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पु¥याउने स्पेसएक्सको योजना रहेको छ । कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको सीओओ शटवेलले बताएकी छन् ।

उनका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउने छन् र उक्त स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्नेछ । मानिसहरु मंगल ग्रहमा पुग्नेवित्तिकै उनीहरुले पृथ्वीमा रहेका मानिसहरुसँग कुरा गर्नुपर्नेछ ।

जसको लागि स्टारलिंक स्याटेलाइटको भूमिका अहम हुने बताइएको छ । त्यसोत, एलन मस्कले २०१७ मा आफूले २०२२ सम्ममा मंगल ग्रहमा २ कार्गो विमान र २०२४ सम्ममा अन्य ४ विमान पठाउन चाहेको बताएका थिए । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस