पूर्वमन्त्री वीरमणि ढकालकी पत्नीको निधन भएपछि छोरीहरु बसे आमाको किरिया

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मीको निधनपछि छोरीहरु काजक्रियामा बसेका छन् ।

गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा लक्ष्मीको देहान्त भएको थियो ।

झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि काठमाडौँ लगेर ह्याम्स अस्पतालमा उपचार गराउँदै गर्दा उनको मृत्यु भएको पूर्वमन्त्री ढकालले जानकारी दिए।

ह्याम्समा गरिएको परीक्षणमा कोभिड पोजिटिभ तथा दुईवटै फोक्सोमा संक्रमण भएको ढकालले बताए।

रेम्डेसिभिर औषधि चढाउनका साथै प्लाज्मा दिँदा पनि श्रीमतीलाई बचाउन नसकिएको ढकालले बताए।

अहिले उनका दुई छोरी माइली र साइली आमाको काजकिरियामा बसेका छन्।

अन्य छोरीहरूको शारीरिक असक्तता तथा विभिन्न कठिनाइका कारण माइली र साँइली छोरी मात्र किरिया बसेको ढकालले बताए।

उनले भने, ‘मेरा छोरीहरु आमाको दशगात्र कर्म गर्न बसेका छन्। उनीहरूकी आमा लक्ष्मी ढकालले अस्ति कात्तिक ६ गते काठमाडौँको हेम्स अस्पतालमा प्राण त्याग गरिन्। उनको दशगात्रको काम गर्न शनिश्चरे घरमै बसेका छौँ। छोरीहरूको साहस, निष्ठा र ईच्छाशक्ति देखेर म गौरवान्वित हुन पाएको छु।’

पूर्वमन्त्री ढकालका छोरा छैनन्।

प्रतिक्रिया दिनुहोस