धनुषामा बोक्सीको आरोपमा दुई महिलामाथि निर्घात कुटपिट, ७ जना विरुद्ध उजुरी

टुडेपाटी-
जनकपुरधाम, कात्तिक १४ गते ।

धनुषामा बोक्सीको लाञ्छना लगाउँदै दुई महिलामाथि निर्घात कुटपिट भएका छन् । धनुषाको सवैला नगरपालिका र औरही गाउँपालिका गरी २ जना महिलामाथि निर्घात कुटपिट भएका हुन् ।

सवैला नगरपालिका १ मुसहरी टोल बस्ने २५ वर्षीया विमलादेवी साह र औरही गाउँपालिका १ झिटकहिया बस्ने ३५ वर्षीया जिवछीदेवी यादवलाई बोक्सीको लाञ्छना लगाउँदै छिमेकीहरुले निर्घात कुटपिट गरेको जनाइएको छ ।

बोक्सीको लाञ्छना लगाउँदै बुधबार साँझ निर्घात कुटपिट गरेको भन्दै सोही ठाउँ बस्ने २० वर्षीय रञ्जित साह र ५५ वर्षीया रासोदेवी साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा कात्तिक १३ गते विमलाले उजुरी दिएकी छन् । पीडित विमलाले दिएको उजुरीको सक्कल फाइल नै इलाका प्रहरी कार्यालयमा दर्ता गरी कारबाही अगाडि बढाउन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

आफ्नी श्रीमतीलाई ‘बोक्सी लगाएको’ भन्दै रञ्जितले कुटपिट गरेको विमलाले उजुरीमा खुलाएकी छन् । रञ्जितलाई प्रहरीले पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । कुटपिटबाट घाइते भएकी विमलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको टाउको निधारलगायत शरीरका विभिन्न भागमा निलडाम देखापरेका छन् ।

त्यसैगरी, धनुषाको औरही गाउँपालिका १ झिटकहिया बस्ने जिवछीलाईसमेत बोक्सीको आरोपमा अपमानजनक व्यवहार गर्दै कुटपिट गरी केश मुण्डन गर्ने प्रयास गरेको भन्दै सोही ठाँउका ३३ वर्षीय रामनाथ यादव, ३५ वर्षीय जितनारायण यादव, ३१ वर्षीय सुजित यादव, २९ वर्षीय मिथिलेश यादव र ३६ वर्षीया विमलादेवी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीबार उजुरी परेको छ ।

गएको कात्तिक ९ गते राति छिमेकी बिहारी मुखियाको घरमा माता दुर्गा भगवतीको पूजा हेरेर फर्किंदै गरेका बेला राति साढे १० बजेतिर आफ्नो ढोकामा चामल र फूल फालेर आफूलाई बोक्सी लगाउन खोजेको भन्दै विमलादेवी यादवले कुटपिट गरेको जिवछीले बताएकी छन् ।

बोक्सीको आरोप लगाउँदै कुटपिट गर्न थालेपछि उनी फुत्किएर आफ्नो घर आइपुगेकी थिइन् । तर, अरुसमेत जबर्जस्ती घरभित्र प्रवेश गरेर कपाल समातेर घिसार्दै बाहिर ल्याएर निर्घात कुटपिट गर्दै केस मुण्डन गरी मलमुत्र खुवाउने प्रयास गरेको पीडित महिलाले बताइन् ।

जिवछीलाई बचाउने प्रयास गर्दा १२ वर्षीया छोरी पूजाकुमारीलाई समेत उनीहरूले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते जिवछीको धनुषा अस्पताल जनकपुरमा कात्तिक ९ गते राति नै उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस