मिर्गौलाको उपचार गर्ने खर्च अभावमा घरमै लडिरहेकी छन् पुष्पा

२ पुस, काठमाडौं । शिकारीबास खोला नजिकै रहेको सुकुमबासी स्याउली बस्ती । जस्ता र खरले छाएको सानो झुपडी । ५२ वर्षीय एक पुरुष आफ्नी बिरामी छोरीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । १५ वर्षीय छोरी बिरामी परेपछि दैनिक ज्यालामजदुरी गरेर खाने मेसो नै उनले भुलिसकेका छन् । जसका कारण उनको घरको चुलोमा नियमित आगो बल्न पनि छाडेको छ ।

दुवै मिर्गौला फेल भएकी १५ वर्षीया छोरी पुष्पालाई घरभित्रै रुँगेर बस्नुको विकल्प उनीसँग छैन किनभने आर्थिक अवस्था नाजुक छ ।पर्साको ठोरी गाउँपालिका–४ स्याउलीबस्ती भएर वीरगञ्ज–ठोरी हुलाकी सडकमा दैनिक थुप्रै गाडीहरु तछाडमछाड गरेर गुडिरहेका हुन्छन् । तर ती गाडीहरुमा बिरामी छोरीलाई राखेर उपचारका लागि सुविधासम्पन्न अस्पताल पुर्याउने सामर्थ्य उनीसँग छैन, किनभने उनीसँग गाडीभाडा समेत छैन ।

दुवै मिर्गौला फेल भएका कारण पुष्पाको शरीर सुन्निएको छ । पीडाले पुष्पा छटपटाइरहन्छिन् । तर पनि आफू विवश बनेर हेर्नुको विकल्प नभएको ४ सन्तानका पिता सोमलाल बताउँछन् ।

कच्ची घरभित्र मुढाजस्तै लडिरहेकी पुष्पाको अवस्था देखेर सोमलाल आफैँ पनि कहिलेकाहिँ अचेत हुन्छन् । तर पनि आफूलाई सम्हाल्दै उनले छोरीलाई खाना खुवाउने प्रयास गर्छन् । खाना खुवाउनेबित्तिकै छोरीले बान्ता गरेको देख्दा उनी आफैँ सम्हालिन सक्दैनन् । यो जाडो मौसममा घरमा सुत्नका लागि खाटसमेत नभएकाले चिसो भुइँमा नै ओछ्यान लगाएर उनले बिरामी छोरीलाई राखेका छन् । शरीर सुन्निएका कारण पुष्पा आफैँ हिँडडुल गर्न सक्दिनन् । उठ्नेवित्तिकै चक्कर लाग्ने भएकाले अरुको सहारामा मात्र उठ्न सक्ने सोमलाल बताउँछन् ।

चिकित्सकले पुष्पाको दुवै मिर्गौला फेल भएको सुनाए । नियमित डाइलायसिस गर्नुपर्ने सुझाव दिए । तर उनीसँग छोरीको उपचार गर्न पैसा थिएन । बाध्य भएर सोमलालले बिरामी छोरी पुष्पालाई घर नै फर्काएर ल्याए
अढाइ वर्षअघि मात्रै सोमलालले आफ्नी माइली छोरी गुमाउनु परेको थियो । शरीर सुन्निएर अल्पायुमा उनले माइली छोरीलाई गुमाउनु परेको थियो । अहिले साहिँली छोरी पनि शरीर सुन्निएर थला परेपछि सोमलाललाई ठूलो पहाडले थिचेजस्तो भएको छ । माइली छोरीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगेको भएपनि रोग पहिचान नहुँदै उनको ज्यान गएको थियो ।

जेनतेन खर्च जोहो गरेर सोमलालले पुष्पालाई पनि एकपटक भरतपुरस्थित चितवन मेडिकल कलेज नपुर्याएका होइन । उपचारको क्रममा चिकित्सकहरुले पुष्पाका दुवै मिर्गौलाले काम नगरेको बताएपछि उनी छाँगाबाट खसे झैँ भए ।

प्रतिक्रिया दिनुहोस