अकबरे खुर्सानी : कतै रोगले खराब, कतै मालामाल

इलाम, पुस ४ गते । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् ।

अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाएका छन् । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिन्छ । सहजरूपमा खेती सकिने र कम मिहिनेत पर्नाले पनि किसान उत्प्रेरित बनेका हुन् । गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष रोगले सखाप परेको इलाम नगरपालिकाका किसान डिल्ली चापागाईं बताउनुहुन्छ ।

गएको वर्ष अकबरेबाट रु डेढ लाख कमाइ भएकोमा यस वर्ष रु ५० हजार मात्र हुने चापागाईंको अनुमान छ । “डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ”, चापागाईंले भन्नुभयो, “बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।” गएको वर्ष एक हजार बिरुवा लगाएकोमा करिब डेढ÷दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चापागाईंको भनाइ छ । समयमा रोगको औषधि हाल्न सक्दा अकबरेबाट प्रशस्त आम्दानी लिन सकिने चापागाईंको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस