आफ्नो कीर्तिमानसँग बराबरी गरेकोमा मेस्सीलाई पेलेले दिए बधाइ

एजेन्सी, ५ पुष । ब्राजिलियन फुटबल लिजेन्ड पेलेले आफूले बनाएको एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान लियोनेल मेस्सीले बराबरी गरेकोमा अर्जेन्टिनी खेलाडीलाई बधाइ दिएका छन् ।

मेस्सीले शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ औँ गोल गरे । पेलेले सो कीर्तिमान सान्तोष क्लबमा रहँदा बनाएका थिए भने जसलाई आधा शताब्दीसम्म कसैले तोड्न सकेका थिएनन् ।

मेस्सीले आफ्नो कीर्तिमान बराबरी गरेपछि पेलेले सामाजिक सञ्जालको माध्यमबाट बधाइ दिए । सान्तोषमा आफूले देखाएको इमान्दारिता र लगाव मेस्सीले बार्सिलोनामा देखाएकोमा उनले खुसी पनि व्यक्त गरेका छन् ।

‘तिमीलाई जस्तै मलाई पनि थाहा छ हरेक दिन एउटै जर्सी लगाउनुको माया । तिमीलाई जस्तै मलाई पनि थाहा छ आफूलाई घरजस्तो लाग्ने ठाउँभन्दा राम्रो अरु कुनै ठाउँ छैन,’ पेलेले कीर्तिमान बराबरी गरेकोमा बधाइ दिँदै लेखेका छन् ।

‘एउटै क्लबलाई माया गर्ने हाम्रो जस्तो कथा दुःखद् रुपमा फुटबलमा बिरलो बन्दै जाने छ,’ उनले लेखेका छन्

प्रतिक्रिया दिनुहोस