‘ओली-देउवा साँठगाँठ’ मा मध्यावधि चुनावको घोषणा

काठमाडौं, ६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको बुझिएको छ । ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुपूर्व देउवासँग केही दिन अघि भेटेका थिए । त्यस बखत पनि सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार मध्यावधिमा जाने भए भित्री रुपमा समर्थन गर्ने देउवाको जवाफ थियो । ओलीको कदमप्रति अहिले देउवा खासै कडा रुपमा प्रस्तुत भएका छैनन् । बरु उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत केही संवैधानिक निकायमा आफूले चाहेका व्यक्तिहरुलाई नियुक्तिको सिफारिश गराउन सफल भएका छन् ।

विगतमा पनि ओली र देउवाबीच कतिपय निर्णयहरुमा साँठगाँठ भएको थियो । उनले ओलीका कतिपय कदममा मौन समर्थन गरेका थिए । यसपटक प्रतिनिधिसभा बिघटनमा पनि देउवाले खासै विरोध गरेका छैनन् । यो दुई नेताबीचको सहमतिमै चालिएको कदम भएको बुझिएको छ ।

हिजो प्रधानमन्त्री ओलीले संसद बिघटन गरी वैशाखमा दुई चरणको मध्यावधि चुनाव गर्ने सिफारिश गरेका थिए । यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस