भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने हिराबहादुर घलानकाे मृत्यु

काठमाडाैं, ८ पुष । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गएराति निधन भएको छ ।मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय ‘जिउँदो इतिहास’ घलानको गएर गएराति निधन भएको हो ।

घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरूको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ । दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलानमात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र थिए ।

वडाकै सबभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए । जीवनभर २५ गाडी बोकेका घलानले वि.सं २००६ देखि नै गाडी बोक्न सुरू गरेका थिए ।

उनले ९६ जनाले बोक्ने गाडी एक पटकमात्रै बोकेका थिए भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोकेका थिए । राणाकालमा भीमफेदीबाट काठमाडौंका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे ।

थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए । आफ्ना बुवाले राणाहरूको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाएका थिए ।

एक वर्षदेखि पक्षघातले थलिएका उनी घरमै बसेर आराम गरिरहेका थिए। उनका दुई छोरा र तीन छोरी छन्।

प्रतिक्रिया दिनुहोस