भारतकी यी साधारण किशोरिले बनाइन् ‘बलात्कारीलाई रोक्ने प्यान्टी’ ! यस्तो छ विशेषता

एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशको एउटा सामान्य परिवारकी सिनु कुमारीले महिलालाई बलात्कारबाट जोगाउने प्यान्टी आविस्कार गरेकी छन्। १९ वर्षीया सिनुले विशेष ताल्चासहितको प्यान्टी तयार पारेकी छन्, जसले महिलालाई बलात्कारबाट बचाउन सक्छ। उनले प्यान्टीको नाम नै ‘रेप प्रुफ प्यान्टी’ राखेकी छन्। उनले प्यान्टी बनाउन नकाटिने ‘ब्लेड प्रुफ’ कपडा प्रयोग गरेकी छन्। प्यान्टीमा एउटा स्मार्ट ताल्चा, जिपिआरएस र एउटा भ्वाइस रेकर्डर पनि जडान गरिएको छ।

सिनु उत्तर प्रदेशको फर्रुखावाद जिल्लाको एउटा निम्न मध्यमवर्गीय किसान परिवारकी सदस्य हुन्। उनका बुवा खेतीपाती गर्छन्। उनले प्यान्टीबारे बताइन्, ‘यो प्यान्टीलाई सजिलै काट्न सकिँदैन। न त जलाउन नै सकिन्छ। यसमा पासवर्डले मात्र खुल्ने एउटा स्मार्ट ताल्चा पनि जडान गरिएको छ।’

उनका अनुसार प्यान्टीमा एउटा बटन पनि छ, जसलाई थिच्नासाथ संकटकालीन प्रहरी टेलिफोन नम्बर १०० मा सम्पर्क हुनेछ। साथसाथै यसमा जडित जिपिआरएसको सहायताले प्रहरीले उद्धारका लागि सहजै लोकेसन पत्ता लगाउन सक्नेछन्। प्यान्टीको भ्वाइस रेकर्डरले वरिपरिका सबै आवाजसमेत रेकर्ड गर्नेछ। उनी भन्छिन्, ‘संकटका बेला पहिलो फोन प्रहरीलाई गर्ने वा परिवारका सदस्यलाई त्यो सेटिङमा भर पर्छ। प्रहरी कार्यालय सबैतिर हुने भएकाले संकटका बेला उद्धार गर्न प्रहरीको नम्बर सेट गरिएको हो।’

प्यान्टी बनाउन करिब ४ हजार भारतीय (६ हजार ४ सय नेपाली) रुपैयाँ लागेको उनले बताइन्। आफ्नो काममा परिवारले सघाएको उनले जानकारी दिइन्। आफूले अनेकौं सोधखोज गरेर प्यान्टी बनाएको उनको भनाइ छ। उनी अहिले यसबाहेक अरु केही यस्तै परियोजनामा काम गरिरहेकी छन्।

उनले प्यान्टी बनाउन केही आर्थिक सहयोग पाए अझै भरपर्दो हुने बताइन्। प्यान्टी बनाउन अलिक सस्ता सामग्रीको प्रयोग गरेको बताउने उनले सहयोग पाए गुणस्तरीय कपडा र ताल्चा प्रयोग गर्न सकिने जनाएकी छिन्। यसो गर्दा प्यान्टीको खर्च भने केही बढ्नेछ। कुनै कम्पनी वा सरकारी निकायले सहयोग गरे आफूले यसलाई अझै स्तरीय बनाउन सक्ने उनको भनाइ छ। उनी भन्छिन्, ‘यो त एउटा नमूना मात्र हो। यो मेरो सुरुवात हो।’

पैतृक घरबाट टाढा भाइबहिनीसँग बस्ने उनले टेलिभिजनमा दिनहुँजसो महिलामाथि हुने यौन दुव्र्यवहार र बलात्कारको समाचार हेर्दा दिक्क लाग्ने र कोठाबाहिर निस्कन समेत डर लाग्ने बताइन्। यी सबै देखेर नै आफूलाई ‘रेप प्रुफ प्यान्टी’ बनाउने जुक्ति फुरेको उनले भनिन्। फर्रुखावादबाट भारतीय जनता पार्टीका सांसद मुकेश राजपूतले उनको प्रयासबाट प्रभावित भएर केन्द्रीय मन्त्रालयमा सहायताका लागि सिफारिस गरेका छन्।

रेप प्रुफ प्यान्टीका लागि उनलाई केन्द्रीय बाल तथा विकास मन्त्री मेनका गान्धीले पनि स्याबासी दिएकी छन्। अहिले उनी आफूले बनाएको प्यान्टीको पेटेन्ट अधिकार लिने प्रयास गरिरहेकी छन्। त्यसका लागि उनले इलाहावादस्थित एनआइएफ (नेसनल इनोभेसन फाउन्डेसन) मा निवेदन दिएकी छन्।

व्यापारिक उत्पादन गर्नुअघि प्यान्टीमा केही सुधार गर्न आवश्यक रहेको सिनुले बताइन्। उनका अनुसार महिलाले २४सै घन्टा लगाउने नभएर एक्लै बाहिर जानु परेका बेला मात्र यो प्यान्टी लगाउँदा हुन्छ। राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसिआरबी)का अनुसार भारतमा दैनिक ७९ जना महिला बलात्कारमा पर्छन्।

महिलाको सबैभन्दा खराब स्थिति मध्य प्रदेशमा छ। सन् २०१६ मा भारतभर २८ हजार ९ सय ४७ महिला बलात्कारमा परेका थिए। त्यसमध्ये भारतका सबै प्रदेशभन्दा बढी ४ हजार ८ सय ८२ बलात्कारका घटना मध्य प्रदेशमा भएका थिए। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा भने त्यस वर्ष ४ हजार ८ सय १६ र महाराष्ट्रमा ४ हजार १ सय ८९ बलात्कारका घटना भएका थिए।

प्रतिक्रिया दिनुहोस