अब टाउकोमै हान्ने खालको आन्दोलन हुन्छ–पुष्पकमल दाहाल

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई हटाउन अबको आन्दोलन निर्णायक हुने दाबी गर्नुभएको छ ।

सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले काठमाडौंमा टाउकोमै हान्नुपर्ने खालको निर्णायक आन्दोलन गर्न लागिएको जानकारी पनि दिनुभयो ।

जनकपुरमा गर्न लागिएको सभा रोकेर काठमाडौंमा सभा गर्न लागिएको र त्यसले छिनोफानो गर्ने भन्दै दाहालले केपी ओली समूहले गर्ने सभालाई भने पञ्च ¥यालीको संज्ञा दिनुभयो ।

दाहालको भनाइ थियो, केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।’

ओलीलाई ‘सामन्ती’को संज्ञा दिँदै दाहालले संविधान, गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका सामन्तीहरु लागिरहेको आरोप लगाउनुभयो ।

सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्ने षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस