जवानी सकिएपछि रित्तै फर्किए,१८ वर्ष कतारमा लुटिए

गोर्खाली खबर

धनकुटाकी आइतमायाँ राई (नाम परिवर्तन) १८ वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेकी थिइन् । राईले १८ वर्षसम्म कतारीको घरमा कैदी सरह काम गरेर जीवन बिताइन् ।

२९ वर्षको उमेरमा रोजगारीका लागि कतार पुगेकी राई ४७ वर्ष पुगेपछि स्वदेश फर्किइन् । १८ वर्षअगाडि धरानका रोहित लिम्बूले इजरायल भनेर रोजगारीका लागि कतार पुर्‍याएको आइतमायाँ बताउँछिन् ।‘जीवन त कतारको मरूभूमिमा बिताएर स्वदेश फर्किए । १८ वर्ष धेरै दुःख पीडा भोगेर नेपाल आएँ’, राईले भनिन् ।

‘कतार रोजगारीमा जानुअघि माओवादी युद्धमा होमिएकी थिएँ । युद्धका क्रममा खोटाङमा एक जना मान्छे मार्नु पर्‍यो । त्यो मान्छे मारेपछि आर्मी र प्रहरीको खोजी सूचीमा परे । त्यसपछि भागेर रोजगारीका लागि भारत हुँदै इजरायल हिँडेको कतार पुगेँ’,

उनले भनिन, ‘कतारीले ८ वर्ष त घर बाहिर निस्कनसम्म दिएन । सुरु सुरुमा घरमा काम गरे । पछि साहुले मरुभूमिमा रहेको बाख्राभेडा फार्ममा काम गर्न लग्यो । १० वर्ष मरुभूमिमा बालुवाभित्र बाख्राभेडा गोठमा काम गरेर बिताए ।’

१० वर्ष भारतीय मुलका मान्छे मात्र कहिलेकाँही भेडाबाख्राको मासु किन्न आएको देख्न गरेको उनको भनाइ छ । यो समय परिवारसँग ६ महिनामा एक पटक फोनमा सम्पर्क हुने गरेको राईले सुनाइन् ।

१८ वर्षअघि कतार जाँदा ७० हजार रुपैयाँ म्यानपावरमा काम गर्दै आएका भिनाजु पर्ने एजेन्टलाई तिरेको राईलाई याद छ । कतारमा घरेलु रोजगारीमा गएका विदेशी महिला कामदारको जीवन कष्टकार र शारीरिक शोषणमा परे पनि काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

घरेलु रोजगारीका लागि कतारी नागरिकले भारतीय र नेपाली महिलालाई खरिद गरेर मनलाग्दी गर्दै राख्ने गरेको राईले अनुभव सुनाउछिन् ।कतार पुगेपछि साथमा राहदानी नभएका कारण घर फर्कन पाएको छैन भनेर सुनाँउदा तपाई जस्ता धेरै नेपाली महिलाहरु कतारमा अलपत्र छन् भन्दै उनी तर्किएको राईले सुनाइन् ।

मैले गुहार मागेको पत्रकार समेत घरेलु महिला कामदार रोजगारीमा लैजाने म्यानपावर र एजेन्टका सहयोगी भएर काम गर्ने गरेको थाहा पाएको राईले बताइन् ।

‘ती पत्रकार त कतारमा घरेलु महिला कामदार ओसार्न म्यानपावर र एजेन्टका सहयोगी रहेछन् । कहाँबाट आफ्ना देशका चेलीबेटी उद्धार गर्न सहयोग गर्छन्’, उनले भनिन् ‘मैले सहयोग मागेका पत्रकारले घरेलु महिला कामदारले समस्यामा परेपछि दूतावासमा गरेको उजुरी दिने व्यक्तिका बारेमा एजेन्ट र म्यानपावरसम्म पुर्‍याउने काम गर्दा रहेछन् । विदेशले धेरै घरपरिवारमा खुसी ल्याएको छ । तर, मेरो जीवनमा पीडा दियो र उमेर सकियो ।’

समाजले मात्र होइन सरकारले समेत वैदेशिक रोजगारीबाट फर्किएका महिला कामदारलाई तिस्कार गर्ने गरेको उनको आरोप छ । ‘म कतारमा १८ वर्ष लुटिए यो मेरो रहर होइन बाध्यता थियो’, उनले भनिन् । श्रम मात्र होइन शारीरिक शोषणमा परेर फर्किएका महिला कामदारलाई सरकारले समाजमा पुनःस्थापन गर्ने सहयोग नगर्ने गरेको राई गुनासो गर्छिन् ।

वैदेशिक रोजगारीबाट फर्किएका महिला कामदारलाई समाजले असमान व्यवहार र विदेशमा इज्जत सकेर आएका भनेर घृणाको भावमा हेर्ने गरेको राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस